Logo
Logo

स्वर्णिम वाग्लेको सुधन स्टाइल, जेनजी बन्ने रहर


882
Shares

बालेन साहलाई मकै भुटेजस्तो पट्ट.. अंग्रेजी भाषण होइन, परिणाम चाहिएको छ भन्ने कुरा समयमै बुझ्न नसक्दा झण्डै अर्थमन्त्रीबाट खुस्केका स्वर्णिम वाग्लेलाई प्रधानमन्त्री बालेनले परिणाम चाहियो भनेर हप्काएपछि वाग्ले परिणाम खोज्न दौडिरहेका छन् ।

दौडने क्रममा वाग्ले, सुधन गुरुङजस्तै छापामार शैलीमा गत बिहीबार लाजिम्पाटस्थित आन्तरिक राजस्व विभाग पुगे । त्यहाँ जम्मा भएका कर अधिकृतहरुलाई ‘करदातालाई थर्काएर होइन, फकाइफुलाई गरेर कर उठाउनुस् । उद्योगी, व्यापारीलाई थर्काएको सुने भने ठिक हुन्न भन्दा उपस्थित कर अधिकृतहरुले यो वाग्लेजस्तो बौद्धिक व्यक्ति पनि सुधन गुरुङकै स्टाइलमा हिँड्न थालेछ भन्दा राजस्वका महानिर्देशक भीष्म भुसालले जिब्रो टोके ।

विचरा रवि

नेपाल पनि अचम्मैको देश छ । आफूलाई चाहिने खाद्यवस्तु आफ्नै देशमा उत्पादन गर्न छाडेर चामल, दाल, मकै, जौँ, भटमासजस्ता वस्तु पनि विदेशबाट आयात गर्दा झण्डै १८ खर्बभन्दा बढी व्यापारघाटा भएको छ ।

तर, विश्वमा चर्चामा आएको अर्जेन्टिनासँग मात्र नेपालको वार्षिक १ खर्ब १६ अर्ब व्यापार घाटा छ भन्ने कुरो हाम्रा अर्थ न बर्थका मन्त्रीलाई थाहा छ कि छैन कुन्नि ? त्यसमाथि नेपालले आर्थिक वर्षमा अर्जेन्टिनामा दुई किलो दालमोठ, त्यो पनि ‘मेड इन इन्डिया’ निर्यात गरेको तथ्य सार्वजनिक हुँदा अर्थमन्त्री वाग्ले डाडुमा पानी तताएर ‘मर्नु’ पर्ने होइन र, कसो रवि लामिछानेज्यू ?

माधवको हाँसो

प्रचण्डलाई एमाले हुन खुबै ठूलो रहर रै’छ, त्यही भएर होला कुनै जमानामा उनी ओलीको पाइलट बने त, कहिले स्वर्ग र नर्कका सहयात्री । अब प्रचण्डलाई केके बनाउन बाँकी छ त्यो त ओलीले नै जानेका होलान् ।

तर, त्यत्रो जेनजी विद्रोहको आरोपित ओलीसँगै सति जाने निर्णय प्रचण्डले किन गरे होलान् भनेर माधवकुमार नेपाल पेट मिचीमिची हाँस्न थालेका छन् ।

जेनजी बन्ने रहर

प्रचण्डले दश वर्षमा गरेको विद्रोह जेनजीले एकै दिनमा गरेको देख्दा प्रचण्डमा पनि जेनजी बनौं बनौं कि जस्तो रहर त जागेको छ, तर उमेरले नेटो काटिसक्यो ।

तै पनि हिम्मत हारेका छैनन् । अझै पनि उनले भन्दै आएका छन्– ‘५ लाख मानिस काठमाडौंमा उतारेर एकै दिनमा सरकार ढाल्ने हिम्मत हामीसँग छ ।’ उनको कुरो सामाजिक सञ्जालमा हेरेर केपी ओलीले भन्दै थिए– त्यो प्रतिक्रान्ति त मै बूढोबाटै सुरु भएको हो नि ? कसो नारानकाजी कमरेड ?

फेसबुक नै राजपत्र

भर्खरै प्रधानमन्त्री बनेका बालेन साहलाई राजपत्र कुन चराको नाउ हो, के थाहा ? त्यसैले उनले आफ्नो फेसबुकबाटै स्वास्थ्य र शिक्षामा वाग्लेले लगाएको कर खारेज गरिदियो । त्यो कुरा ‘फेसबुक’बाटै हेरेर अर्थमन्त्री स्वर्णिम वाग्ले तिल्मिलाए ।

हुन त, बजेटमा उल्लेख भएको कुरा संसद्बाटै खारेज गरिनुपथ्र्यो, तर संसद् नै नजाने प्रधानमन्त्रीलाई संसद्को के मतलब ? त्यसैले राजपत्रमा छापिनुपर्ने कुरा सामाजिक सञ्जालबाटै हल्लाहल्ला भयो । आखिर सामाजिक सञ्जालकै बलमा उदाएको प्रधानमन्त्रीले यसो गर्दा कसैले किन टाउको दुखाउनुप¥यो ? यो त ‘मनपरी’ सरकार न हो, कसो असिम साहज्यू ?

प्रतिक्रिया दिनुहोस्