काठमाडौं । सिरहाको गोलबजार क्षेत्रमा दुई घण्टाका लागि कर्फ्यू आदेश खुकुलो बनाइएको छ । दिउँसो ३ देखि ५ बजेसम्म दुई घण्टाका लागि कर्फ्यू खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालय, सिरहाले जनाएको छ ।

सुरक्षा अवस्थाको विश्लेषण तथा सर्वसाधारणलाई दैनिक उपभोग्य सामग्रीको व्यवस्थापन गर्न सहज होस् भन्ने उद्देश्यले कर्फ्यू खुकुलो बनाइएको प्रशासनले जनाएको छ ।
उक्त अवधिमा पाँच जनाभन्दा बढी व्यक्तिको समूहमा भेला हुन नपाइने प्रशासनले स्पष्ट गरेको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनामा कर्फ्यू खुला भए पनि शान्ति–सुरक्षा कायम राख्न सबैलाई संयमित र जिम्मेवार व्यवहार गर्न आग्रह गरिएको छ । यसअघि जिल्ला प्रशासनले लहान क्षेत्रमा जारी रहेको कर्फ्यू भने हटाइसकेको छ ।














