काठमाडौं । आन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद-बिक्रीमा बीजक लिने-दिने संस्कृतिको विकास, कर अनुपालन अभिवृद्धि तथा वास्तविक कारोबार अभिलेखीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन भइरहेको करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन सबै उपभोक्तासँग आग्रह गरेको छ।

विभागले नगद भुक्तानी गरी आफ्नै प्रयोजनका लागि नेपालभित्र एक पटकमा एक सय रुपैयाँभन्दा बढी मूल्यका वस्तु वा सेवा खरिद गरी बीजक लिएका योग्य उपभोक्ताले २०८३ साउन १ गतेदेखि जारी भएका खरिद बीजकको विवरण विभागको प्रणालीमा प्रविष्ट गरेर उपहार कार्यक्रममा सहभागी हुन सक्नेछन् । यसका लागि विभागले https://prize.ird.gov.np मार्फत दर्ता गर्ने व्यवस्था खुला गरेको जनाएको छ।
विभागका अनुसार भुक्तानी सेवा प्रदायकमार्फत गरिएको विद्युतीय भुक्तानीबाट २०८३ साउन १ गतेदेखि भएका खरिद भने यस उपहार कार्यक्रममा स्वतः समावेश हुनेछन् । त्यसैले त्यस्ता खरिदका बीजकको विवरण छुट्टै प्रणालीमा प्रविष्ट गर्न आवश्यक नपर्ने विभागले स्पष्ट पारेको छ ।
विभागले सबै उपभोक्तालाई वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बीजक लिन र समयमै आवश्यक विवरण प्रविष्ट गरी उपहार कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ ।
आन्तरिक राजस्व विभागले जारी गरेको कार्यविधिअनुसार प्रत्येक दिन एक जना चिट्ठामा छनोट हुने विजेताले एक लाख ३३ हजार तीन सय ३४ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, पाक्षिक रूपमा एक जना विजेतालाई १० लाख रुपैयाँ प्रदान गरिने व्यवस्था छ । पुरस्कार रकममा आयकर ऐन, २०५८ अनुसार आकस्मिक लाभमा लाग्ने २५ प्रतिशत कर भने कट्टी गरिनेछ । पाक्षिक विजेताको छनौट हरेक महिनाको १ गते र १६ गते गरिने बताइएको छ ।
योजनामा सहभागी हुन उपभोक्ताले खरिद गरेका वस्तु वा सेवाको वैधानिक कर बिजक सुरक्षित राख्नुपर्नेछ। विजेता घोषित भएपछि १५ दिनभित्र सक्कल बिजक, नागरिकता वा अन्य परिचयपत्र, बैङ्क खाताको विवरण र स्थायी लेखा नम्बर सहित नजिकको आन्तरिक राजस्व कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। आवश्यक जाँचपछि १० दिनभित्र पुरस्कार वितरण गरिने कार्यविधिमा उल्लेख छ ।














