काठमाडौं । नेपाली कांग्रेसका दुई पक्ष मिलाउनका लागि पार्टीभित्र नयाँ अभियान सुरु गरिने भएको छ । सभापति गगन थापा र संस्थापनइतरलाई एकजुट बनाउन ‘देश र कांग्रेस जोड्ने’ अभियानको सुरु गरिने भएको छ ।

नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर, रञ्जित कर्णलगायतको अगुवाइमा अभियान सुरु गर्न लागिएको हो । पालिका, प्रदेश र प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व सुनिश्चित हुने साउन २० गते ‘राष्ट्रिय एकता भेला’ आयोजना गर्न लागिएको आइतबार पत्रकार सम्मेलन गरेर अभियानका अगुवाहरूले जानकारी गराएका छन् ।
कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुने र प्रतिगामी शक्तिहरू हाबी बन्ने अभियानले जनाएको छ । ‘प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नै आन्तरिक विवादमा अल्झिनु लोकतन्त्रका लागि पनि चिन्ताको विषय बनेको छ,’ अभियानको तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘यही परिस्थितिलाई आत्मसाथ गर्दै हामीले देश र कांग्रेस जोड्ने अभियान सुरु गरेका छौँ ।’














