
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई पदबाट हटाउन नेकपा एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राई सक्रिय भएका छन् । कोशी प्रदेश सरकार पुनर्गठनको चर्चा चलिरहेका बेला पार्टी अध्यक्ष केपी ओलीको निर्देशनमा राई कार्कीलाई हटाउन सक्रिय भएका हुन् ।
पार्टी सचिव समेत रहेका राईले विराटनगरमा प्रदेश सभा सदस्यहरूसँग छलफल गर्दै नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीलाई राजीनामा दिएर सहज बनाउन आग्रह गरेको स्रोतले बतायो । राईले कोशीमा मुख्यमन्त्री परिवर्तन गर्ने केन्द्रको नीति रहेको र त्यहीअनुसार छलफल भइरहेको बताए ।
केन्द्रमा नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेका बिच प्रदेशको सत्ता बाँडफाँड गर्ने सहमति हुँदा कोशी नेकपा एमालेको भागमा परेको छ । कोशीमा नेकपा एमालेका तर्फबाट मुख्यमन्त्रीको रूपमा हिक्मत कुमार कार्कीले सरकारको नेतृत्व गरिरहेका छन् ।
एमालेकै नेतृत्वमा सरकार हुँदा यस्तो विषम परिस्थितिमा नेतृत्व परिवर्तन गर्दा सन्देश राम्रो नजाने भन्दै मुख्यमन्त्री कार्कीले भने सरकार पुनर्गठन गर्न नहुने अडान लिएका छन् । उनी यदि मुख्यमन्त्री परिवर्तन गर्न परे पार्टीको संस्थागत निर्णय आउनु पर्ने अडानमा छन् ।
कार्की नेतृत्वको सरकार संविधानको धारा १६८(५) बमोजिम बनेको हो । संविधानको धारा १६८(१) र २ अन्तरगत बनेको भए संसदीय दलको नेता फेर्दा सरकार विघटनमा जान्थ्यो र पर्नुगठनका लागि सहज हुन्थ्यो । तर अहिले मुख्यमन्त्री स्वयम्ले राजीनामा नदिएसम्म नयाँ सरकार गठनमा जटिलता थपिएको छ ।
मुख्यमन्त्री कार्की २०८१ वैशाख २७ गते एमालेका ३९ र माओवादीका १३ सहित ५२ सांसदको समर्थनमा नियुक्त भएका थिए । धारा १६८ (५) अनुसार बनेको सरकारमा सांसदहरूलाई दलको ‘ह्विप’ नलाग्ने भएकाले पनि कार्कीको सहमतिबिना परिवर्तन कठिन भए पनि केन्द्रको निर्देशन भन्दै सरकारको नेतृत्व परिवर्तनका लागि कोशीमा रस्साकस्सी चलिरहेको छ ।














