Logo
Logo

सुनसरी घटनाबारे मानव अधिकार आयोगले थाल्यो अनुसन्धान


378
Shares

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको गोलीकाण्डको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ । आयोगले घटनालाई स्वप्रेरणाबाट उजुरीका रूपमा दर्ता गर्दै घटनाको विस्तृत छानबिन अघि बढाएको हो ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडी तथा आयोगको कोशी प्रदेश कार्यालयका कार्यालय प्रमुख वीरबहादुर बुढामगरसहितको उच्चस्तरीय टोलीले घटनास्थल पुगेर स्थलगत अनुगमन गरेको छ । टोलीले स्थानीय बासिन्दा, सरोकारवाला निकाय तथा सुरक्षा अधिकारीसँग घटनाबारे जानकारी लिएको जनाएको छ ।

आयोगको केन्द्रीय कार्यालय हरिहरभवनको निर्देशनअनुसार अनुसन्धान प्रक्रिया अघि बढाइएको आयोगको कोशी प्रदेश कार्यालयले जनाएको छ । कार्यालयका निमित्त प्रमुख दयाराम पाठकले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई पत्राचार गर्दै घटनासम्बन्धी विस्तृत विवरण सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएका छन् ।

आयोगले घटनाको वास्तविक अवस्था, सुरक्षा निकायको भूमिकासहित मानव अधिकारको अवस्था मूल्याङ्कन गर्न स्थलगत अध्ययनसमेत जारी राखेको जनाएको छ ।

गत साउन १० गते राति देवानगञ्ज–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको झडप हिंसात्मक बनेपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । उक्त घटनामा गोली लागेर दुई जनाको मृत्यु भएको थियो भने अन्य केही व्यक्ति घाइते भएका थिए । आयोगले घटनाका सबै पक्षको निष्पक्ष अनुसन्धान गरी तथ्यमा आधारित प्रतिवेदन तयार पार्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्