काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरूले राजीनामा दिन दबाब दिइरहेका बेला कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले यसबारे मुख खोलेका छन्।

मुख्यमन्त्री पदबाट राजीनामा दिनु भन्ने ओलीको सन्देश लिएर विराटनगर आएका पार्टी प्रदेश इन्चार्ज शेरधन राई सहितको बैठकमा सहभागी भएपछि मुख्यमन्त्री कार्कीले सोमबार सन्चारकर्मीसँग आफ्ना कुरा राखेका हुन्।
त्यसक्रममा उनले आफू नेतृत्वको सरकार संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको बताउँदै यो सरकार आफ्नै ढंगले अघि बढ्ने उल्लेख गरेका हुन्।
संवैधानिक र पार्टीभित्रको आन्तरिक शक्ति संघर्षलाई आधार बनाउँदै राजनीतिक जीवनमै पहिलोपटक ओलीलाई खुला चुनौती दिएका कार्कीले पार्टी कमिटीको निर्णय आए राजीनामा दिने बताउँदै आएका छन्।
‘म संसदीय दलको नेता मात्र भएर मुख्यमन्त्री भएको होइन,’ उनले बैठकपछि भने, ‘६५ भन्दा बढी प्रदेश सभा सदस्यको विश्वासको मत लिएर सरकार बनेको हो। यो उपधारा ५ को सरकार हो र आफ्नै ढंगले अगाडि बढ्छ।’
आफू अझै पनि एमाले संसदीय दलको नेता र मुख्यमन्त्री दुवै रहेको दोहोर्याउँदै मिडियामा आएका विभिन्न अड्कलबाजी तथ्यमा आधारित नरहेको उनले दाबी गरे।














