काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति परिवर्तन भएको छ । उनी अब २८ साउनमा स्वदेश फर्किने भएका छन् । कांग्रेस नेता डा.प्रकाशशरण महतले पूर्वसभापति देउवा नेपाल फर्किने समय परिवर्तन भएको जानकारी गराएका हुन् । पूर्वप्रधानमन्त्री देउवा आगामी बिहीबार (साउन २८ गते) मध्यान्ह साढे १२ बजे काठमाडौं अवतरण हुने भएका छन् ।

कांग्रेस संस्थापन इतर समूहका प्रचार–प्रसार संयोजक मीन विश्वकर्माले पनि पूर्वसभापति देउवाको स्वदेश फर्किने समय परिवर्तन भएको बताएका छन् । उनले आगामी बिहीबार साढे १२ बजे थाई एयरबाट देउवा स्वदेश फर्किने जानकारी दिए ।
यसअघि नेता महतले पूर्वसभापति देउवा २६ साउन राति ९:४५ बजे स्वदेश फर्किने जानकारी दिएका थिए । नेता विश्वकर्माले राति काठमाडौं अवतरण हुँदा स्वागत गर्न असहज हुने भएकाले समय परिवर्तन गरिएको बताए ।
जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका पूर्वसभापति देउवा १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए । उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए ।
कांग्रेसको संस्थापन इतर समूहले २९ साउनदेखि काठमाडौंमा आयोजना हुन गइरहेको राष्ट्रिय भेलालाई पूर्वसभापति देउवाले सम्बोधन गर्ने बताएको छ । उक्त समूहले भेलाको तयारीका लागि पूर्वमहामन्त्री डा.शशांक कोइरालाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ ।














