काठमाडौं । नारायणी नदीको बाढीले बस्ती डुबानमा परेपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ मा सशस्त्र प्रहरीले २९ जनाको सकुशल उद्धार गरेको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण नारायणी नदीको बहाव बढेपछि सुस्तास्थित थारुटोलमा पानी पसेको थियो । आज बिहान पौने ९ बजे सशस्त्र प्रहरी बल, नेपाल बीओपी सुस्ताबाट उद्धार टोली परिचालन गरिएको थियो ।

सशस्त्र प्रहरी निरीक्षक मनोज कार्कीको कमान्डमा खटिएको २१ जनाको टोलीले डुबानमा परेका २९ जनाको उद्धार गरेको हो । टोलीले एक गाई र १३ वटा बाख्रालाई समेत सुरक्षित स्थानमा सारेको छ ।
उद्धार गरिएका स्थानीय तथा चौपायालाई सुस्ता गाउँपालिका-५ मा रहेको होल्डिङ सेन्टरमा राखिएको छ । यसअघि नारायणीको बाढी सुस्ताको थारु टोलमा पसेर १६५ घरमा असर गरेको थियो । थारु टोलका ७८ परिवारलाई होल्डिङ सेन्टरमा सारिएको थियो भने सैनिक टोल र बड्का टोलमा समेत बाढी पसेपछि थप ८५ परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो ।
नारायणी नदीको पानीको सतह बढिरहेको र सुस्ताका अन्य बस्तीसमेत जोखिम बढेको छ । सुस्तामा निर्माणाधीन तटबन्धको १३२ मिटर भाग निर्माण हुन बाँकी रहेकाले उक्त क्षेत्रमा नदी कटानको जोखिम रहेको छ ।














