काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज बहुराष्ट्रिय कम्पनीका सञ्चालक तथा प्रतिनिधिसँग छलफल गरेका छन् ।
अर्थ मन्त्रालयका अनुसार आजको छलफलमा २० कम्पनीका प्रतिनिधि सहभागी भए । सूर्य नेपाल प्रालि, एनसेल आजियाटा, आरती स्ट्राइप्स, गोर्खा ब्रुअरी र हिमालय एयरलाइन्सका प्रतिनिधि सहभागी भए ।
यसैगरी होङ्सी सिमेन्ट, डुसान इनरबिलिटी कम्पनी, डाबर नेपाल, बोटलर्स नेपाल (तराइ), यूनिलिभर नेपालका प्रतिनिधि सहभागी भएको मन्त्रालयले जनाएको छ । यसैगरी एसियन पेन्ट्स, पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना, गोर्खा लाहारी, ह्वासिन सिमेन्ट, नारायणी प्रालि र न्यू होप एग्रो बिजनेस नेपाल प्रालिका प्रतिनिधि सहभागी भएका छन् । नेपाल वेलहोप एग्रीटेक प्रालि, वरुण बेभरेज, टर्की एयरलाइन्स, भोटेकोशी पावर कम्पनी र बर्जर जेन्सन एण्ड निकोल्सन नेपाल प्रालिका प्रतिनिधिको पनि उपस्थिति थियो ।
अर्थमन्त्री डा. वाग्लेले आर्थिक वर्ष २०८३\८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीहरूसँग छलफल गरेका हुन् ।
छलफलमा अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय कम्पनीहरूलाई बजेटले दिएको सुविधा, उनीहरूले भोगिरहेका समस्या र नेपालमा लगानी विस्तार, रोजगारी सिर्जना र प्रतिफल फिर्ता लैजान सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा कुरा राख्न र लिखित रूपमा पनि विवरण पेश गर्न आग्रह गरेका छन् ।
यसै शृङ्खलाअन्तर्गत यसअघि वाग्लेले नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरेर ठूलो मात्रामा रोजगारी सिर्जना गरेका र अर्थतन्त्रमा योगदान गरेका ३३ औद्योगिक घरानासँग छलफल गरिसकेका छन् । उनले नेपालका ’क’ वर्गका वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत र नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशकहरूसँग पनि छलफल गरिसकेका छन् ।














