Logo
Logo

महासचिवविरुद्ध ओलीको ‘काउन्टर राजनीतिक कार्ड’


1.1k
Shares

काठमाडौं । एमाले पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको मुद्दामा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसँग टकराब बढ्दै गएपछि अध्यक्ष केपी शर्मा ओलीले ठूलो राजनीतिक संकट झेल्नुपर्ने भएको छ ।

ओली हठका कारण एमालेले अकल्पनीय पराजय ब्यहोरेको र अहिलेसम्म समीक्षा गरेर नेतृत्वको हैसियतमा गल्तीसम्म स्विकार्न ओली तयार नभएपछि पुनर्गठनमार्फत विकल्प खोज्नुपर्ने दबाब बढिरहँदा ओलीका लागि राजनीति संकट आउने भएको हो । 

त्यसो त, पुनर्गठन कार्यदललाई पनि देशका बहुसङ्ख्यक नेता–कार्यकर्ताले ओलीलाई बिदा गरेर पार्टीलाई विचार, सिद्धान्त र संगठनात्मक पुनर्गठनमा लैजानुपर्ने सुझाव दिएका छन् । अहिले सो प्रतिवेदन ओलीसमक्ष पुगेर बसेको छ । ओलीले सचिवालय बैठक राख्ने आँट गरेका छैनन् ।

त्यस्तो सुझाव संस्थागत छलफलका लागि प्रस्तुत भएको खण्डमा पार्टी सचिवालय, केन्द्रीय कमिटीको बहुमत वा साबिक महाधिवेशन प्रतिनिधिहरूको राष्ट्रिय भेलाले विधानको बाधा अड्काऊ फुकाएर विशेष महाधिवेशन या अर्लि महाधिवेशनको विकल्प रोजेर अध्यक्ष पदबाटै हटाउन सक्ने देखिएकाले ओलीमा छटपटी बढ्दै गएको छ । 

त्यही कारण पनि आफूमाथि आउनसक्ने ठूलो राजनीतिक संकट टार्न केन्द्रीय सचिवालयमा स्पष्ट अल्पमतमा परिसकेका ओली नेतृत्वमा टिकिरहन अनेक दाउपेचमा लागेका छन् ।

सानो घेरामा रमाउने, विरोधीहरूलाई राजनीतिक प्रतिशोध साँध्ने चरित्रका ओलीले अहिले पौडेल र पोखरेलविरुद्ध नयाँ ‘काउन्टर राजनीतिक कार्ड’ खेल्न थालेका छन् । त्यसक्रममा पौडेल र पोखरेललाई साईजमा राख्न पूर्व उपमहासचिव तथा प्रभावशाली नेता प्रदीप ज्ञवालीलाई ओलीले भावी उत्तराधिकारीका रूपमा ‘एक्सपोज’ गर्न सुरु गरेका छन् ।

अरू दलसँगको वार्ता, छलफल, गोप्य आन्तरिक रणनीतिक बैठक, दस्ताबेजहरूको अध्ययन, विदेश मामिला सम्पर्क, स्कुलिङदेखि दैनिक रणनीतिक भेटघाट र योजना बनाउनेसम्मका काममा वैशाखयता ओलीले ज्ञवालीलाई अगाडि सारिरहेको एमाले स्रोतले जनाएको छ । त्यही कारण उनी अचेल दिन बिराएर मदन–आश्रित प्रतिष्ठान लेखिएको सवारीसाधनमा ज्ञवाली गुण्डुमा देखापर्ने गरेका छन् । त्यस्तै, पदाधिकारीको जिम्मेवारीमा नभए पनि ज्ञवाली प्राय ः केन्द्रीय कार्यालय पनि जाने गरेका छन् ।


अरू दलसँगको वार्ता, छलफल, गोप्य आन्तरिक रणनीतिक बैठक, दस्ताबेजहरूको अध्ययन, विदेश मामिला सम्पर्क, स्कूलिङदेखि दैनिक रणनीतिक भेटघाट र योजना बनाउनेसम्मका काममा वैशाखयता ओलीले ज्ञवालीलाई अगाडि सारिरहेको उच्च स्रोतले जनाएको छ । 


त्यसो त, रास्वपाको महाधिवेशनमा पनि ओलीले कुनै पनि पदाधिकारी तहको नेतालाई विश्वास नगरी भरपर्दो नेताका रूपमा तिनै प्रदीप ज्ञवालीलाई नै पठाएका थिए । गत साता क्युबा भ्रमणमा गएका उनले त्यसकै अघिल्लो दिन बालेन्द्र सरकार आएपछि नेपालको परराष्ट्र नीतिबारे मूल धारका सञ्चार माध्यमका विशेष प्रतिनिधिहरूसँग अन्तरक्रिया गरेका थिए । मदन भण्डारी फाउन्डेसन आफू विरुद्धको मोर्चाका रूपमा प्रयोग भइरहेकै कारण ओलीकै रुचिअनुसार ज्ञवालीले अहिले अर्को संस्था मदन आश्रित प्रतिष्ठानको अध्यक्षको जिम्मेवारीसमेत सम्हालेका छन् ।


त्यतिमात्र होइन, ज्ञवालीले ओलीको रुचिअनुसार प्रदेश सरकार नेतृत्वहरूको हेरफेरसम्बन्धी रणनीतिक मोर्चामा पनि निर्देशन दिने र तलबाट अपडेट लिने जस्ता छाया महासचिवकै हैसियतमा काम गरेको एक नेताले दृष्टिलाई बताए । कोशी प्रदेशबाट काठमाडौं आएका प्रदेश अध्यक्ष घनश्याम खतिवडासहितको टोलीले पनि पछिल्लो विकासक्रमबारे ओलीपछि ज्ञवालीलाई भेटेर रिर्पोटिङ गरेको थियो । जबकि त्यो टोलीले उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेललाई भेटवार्ता गर्ने कुरालाई प्राथमिकतामै राखेन । 

उच्च स्रोतका अनुसार ओली पदमा टिकिरहन पुनर्गठन कार्यदलको प्रतिवेदन संशोधन गरेर मात्र सचिवालयमा प्रस्तुत गर्ने, त्यहाँ अल्पमतमा पर्ने अवस्था आए सिधै केन्द्रीय समिति बैठकबाट आफू अनुकूल निर्णय गराउने दाउपेचमा छन् । ओलीको त्यस्तो योजनालाई ज्ञवालीसँगै उपाध्यक्ष रामबहादुर थापा‘बादल’ र सचिव महेश बस्नेतले साथ दिइरहेका छन् ।

सचिवालयका नेताहरूमध्ये अहिलेसम्म लेखराज भट्ट र भानुभक्त ढकाल मात्र राम्रोसँग ओलीतिर खुलेका छन् । अर्की सचिव पद्यमा अर्याल न्युट्रल बसेको खण्डमा १९ सदस्यीय बाँकी पदाधिकारी सोलोडोलो पौडेल–पोखरेलतिर हुने सम्भावना पनि छ । त्यसो त, पौडेलसँग मात्रै निकट रहेका ६ जना पदाधिकारी छन् भनेर एमालेमा हिसाब लगाउने गरिन्छ ।

पछिल्ला घटनाक्रम हेर्दा पनि समीकरण पौडेल–पोखरेलतिरै भारी हुनेगरी अगाडि बढ्ने सम्भावनाकै कारण ओलीले प्रदेशहरूमा आफू अनुकूल व्यक्तिलाई मुख्यमन्त्री बनाएर कतिपय अर्को कित्तामा लाग्न सक्ने कम्तीमा २५-३० जना जतिलाई मन्त्री बनाउने, कतिलाई टिकट र अवसरहरूको लोभ देखाइदिने र केन्द्रीय कमिटीमा जसरी पनि बहुमत पु¥याउने दाउमा ओली छन् । ओली बिदा हुनै पर्ने अवस्था आउँदा उत्तराधिकारीका रूपमा ज्ञवाली र महेश बस्नेतलाई अगाडि सार्ने उनको भित्री योजना रहेको बताइन्छ । 

कम्युनिष्टसँगको कार्यगत एकता सुरु गरेर पनि अहिलेलाई आफूलाई हटाउन चलिरहेको अभियान मत्थर पार्ने पनि ओलीले समानान्तर रणनीति पनि चलाइरहेका छन् । ओलीले ‘किचन क्याबिनेट’ भित्र ज्ञवालीलाई परि आउँदा अगाडि बढ्ने मनस्थिति बनाउन पनि भनेको कतिपय नेताहरूले चर्चा गर्ने गरेका छन् ।

एघारौँ महाधिवेशनमा ओलीबाट धोका खाएर महासचिव पदको उम्मेदवार बन्न नपाउँदा मिडियासामु भावुक बन्दै गहभरी आँसू पारेका ज्ञवाली झन् झन् ओलीको रक्षकका रूपमा प्रस्तुत हुनुलाई भावी उत्तराधिकारीको आश्वासन पाएकै अर्थमा एमाले वृत्तमा चर्चा चल्ने गरेको केन्द्रीय तहको एक नेताले बताए ।

त्यसो त, ओलीसहित पदाधिकारी र केन्द्रीय कमिटी विघटन गरी अहिलेको पदाधिकारीबाहेकबाट अर्ली वा विशेष महाधिवेशन आयोजक समिति बनाउने हो भने प्रदीप ज्ञवाली नै महत्त्वपूर्ण र उपयुक्त पात्र बन्न सक्छन् भन्ने पनि कतिपयको अनुमान छ ।

अर्कोतिर, कार्यकर्तामाझ बढी लोकप्रिय मानिएका सुरेन्द्र पाण्डे केन्द्रीय कमिटी बाहिरको संयोजनकारी पात्रका रूपमा अर्को विकल्प त हुनसक्छन् । तर, उनलाई ओलीसहित अहिलेका पदाधिकारी तहका नेताहरूले फिटिक्कै नरुचाउने भएकाले पनि त्यसरी बन्ने महाधिवेशन समितिमा ज्ञवालीको तुलनामा पाण्डेको धेरै कम सम्भावना रहेको बताइने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्