
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने भएका छन । प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्री शाहले भोलि (बिहीबार) राजीनामा दिने तयारी गरेका हुन् ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार डम्बरबहादुर बमले मुख्यमन्त्री शाहले भोलि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने तयारी गरेको जानकारी दिए ।
गत असार ३१ गते नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहको सरकार अल्पमतमा परेको थियो । संविधानअनुसार विश्वासको मत लिनुपर्ने ३० दिनको समयसीमा पनि भोलि पूरा हुँदैछ ।
विश्वासको मतका लागि आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिनुभन्दा राजीनामा दिने निष्कर्षमा पुगेका हुन् ।















