
काठमाडौं । नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहले राष्ट्रिय भेलाका लागि स्थान तय गरेको छ । २९ साउनका लागि घोषणा गरिएको राष्ट्रिय भेलाका लागि देउवा समूहले सुकेधारास्थित मिराकल पार्टी प्यालेस बुकिङ गरेको हो ।
इतर समूहको प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले मिराकल पार्टी प्यालेसमा भेला गर्ने निर्णय भएको जानकारी दिए । राष्ट्रिय भेलाको उद्घाटन समारोह शुक्रबार दिउँसो १ बजे सुरु हुने पनि बताए ।
राष्ट्रिय भेला पूर्वसभापति देउवाको प्रमुख आतिथ्यतामा तीन दिनसम्म चल्ने बताइएको छ । भेलामा पाँच हजार नेता–कार्यकर्ताहरूको उपस्थिति हुने अनुमान इतर समूहको दाबी छ ।
कांग्रेस नेता डा. प्रकाशशरण महतकाअनुसार देउवा बिहीबार मध्यान्ह साढे १२ बजे काठमाडौं अवतरण हुनेछन् । उनी थाई एयरबाट स्वदेश फर्किन लागेका हुन् ।














