Logo
Logo

नेपालको भूमि चीनविरूद्ध प्रयोग गर्न दिनुहुँदैन (भिडिओ वार्ता)


झलनाथ खनाल, पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता, नेकपा

252
Shares

नेपालको वाम आन्दोलन रक्षात्मक अवस्थामा पुगेपछि यसबारे अनेकौं तवरले बहस सुरु भएको छ । गत निर्वाचनको मत परिणामले रक्षात्मक बनेको वाम आन्दोलनलाई पुनर्जीवन दिन नेताहरूले समीक्षा गर्न पनि थालेका छन् । नेकपा(एमाले) र नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को बीचमा प्रदेश तहमा सत्ता सहकार्यको सहमति भएर सरकार निर्माणका लागि पहल भइरहेको छ ।

अर्कोतिर, अहिले रास्वपाको सरकार बनेयता नेपालमा भूराजनीतिक प्रभाव पनि निकै बढेको विश्लेषण गरिँदै आइएको छ । नेपालको वाम आन्दोलन, भूराजनीतिक प्रभाव र आगामी कार्यभार लगायतका समसामयिक विषयमा केन्द्रित रहेर नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग दृष्टिका लागि हिरेन्द्र शाहीले गरेको कुराकानीको सम्पादित अंशः

भर्खरै, चीन भ्रमण सकाएर फर्किनुभएको छ । नेपालप्रति चीनको मुख्य चासो के पाउनुभयो ?
भर्खरै, मेरो चीनको भ्रमणको सिलसिलामा चिनियाँ मित्रसँग विभिन्न अनुभव आदान प्रदान भए । चीनले नेपाल लगायत विभिन्न देशका सरकार एवं कम्युनिष्ट पार्टीलाई हेर्ने सन्दर्भमा आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने स्थायी नीति लिएको छ । यस पटकको भ्रमणमा पनि मैले त्यही नै पाए । नेपालको सन्दर्भमा चिनियाँहरुले मित्र शक्ति र विकासको साझेदार मुलुकको रुपमा लिनुभएको छ ।

हाम्रो राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको पक्षमा चीन सधै अडिग रहेको छ । अहिले जनवादी गणतन्त्र चीन नै एउटामात्रै यस्तो देश हो, जसले नेपालललाई संयुक्त राष्ट्रसंघको सदस्यता दिलाउन भूमिका खेलेको थियो । नेपालको जुनसुकै व्यवस्थामा पनि नेपाल सरकार र राजनीतिक दलले एक चीन नीति अपनाउँदै आएका छन् । नेपालको भूमि चीन विरुद्ध प्रयोग गर्न दिनुहुँदैन भन्ने उहाँहरुको स्पष्ट मत छ ।

तर, पछिल्ला घटनाक्रमले चीन सशंकित भएको छ । दलाई लामाको जन्मोत्समव मनाइनु र त्यसमा पश्चिमा मुलुकका कूटनीतिक नियोगका प्रतिनिधि सहभागी भएपछि चीनले आशंका गर्न थालेको हो । पछिल्लो समय नेपालमा जुन खालका घटना भए त्यसले चीनलाई तर्साएको छ ।

जस्तो, दलाई लामाको जन्मोत्सव मनाउन स्वीकृति दिएपछि चीनले नेपालप्रति हेरिरहेको विगतको दृष्टिकोणमा केही बदलाव आएको छ् । यसमै फेरि तिब्बत सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने घोषणाले चीन असन्तुष्ट थियो, धन्न अन्तिम समयमा सरकारले त्यो सेमिनार रोकेर ठिक गरेको छ ।

नेपाल असंलग्न परराष्ट्र नीति अंगीकार गरेको मुलुक हो । नेपालले अन्तर्राष्ट्रिय सम्बन्धमा तटस्थताको नीति लिएको छ । तर, पछिल्लो बालेन सरकारको गतिविधिप्रति चीनले आपत्ति जनाएको छ । विगतको अवसर र शक्तिलाई जनता र राष्ट्रको पक्षमा काम गर्र्न चुकेका हौं ।

पछिल्लो सरकारको चीन विरोधी गतिविधिले कतै हाम्रो मुलुकमा भूराजनीतिक संकट उत्पन्न हुने त होइन ?
यस अघि पनि अमेरिकाले नेपालबाट चीन विरोधी गतिविधि गर्ने प्रयत्न गरिरहेको थियो । एमसीसी परियोजना त्यसकै दृष्टान्त हो । वामपन्थी नेताहरु पनि एमसीसीकै पक्षमा उभिनु लज्जास्पद छ । एमसीसी सम्झौता जुन प्रकारले गरियो, त्यो अमेरिकीहरुको आफ्नो साम्राज्यवादी र प्रभुत्ववादी रणनीतिलाई सघाउने योजना हो । त्यसयता नेपालमा अमेरिकी गतिविधि लगातार बढ्दै आइरहेको छ । नेपाल पनि इन्डोप्यासिफिकको सदस्य बन्यो भनेर अमेरिकी रिपोर्टमा उल्लेख गरिएको छ । यद्यपि, तत्कालीन सरकारका मन्त्रीहरुले त्यसलाई अस्वीकार गर्दै आइरहेका छन् । त्यसपछि पनि नेपाली सेना इन्डोप्यासिफिक कमाण्डमा उपस्थिति जनाउँदै अमेरिकीको सैनिक सहयोग बढ्दै जाने प्रवृत्ति बढिरहेको छ । एसपीपी सम्झौता गरेको भए नेपालमा अमेरिकी सेनालाई सहजै उपस्थिति हुने माध्यम बन्थ्यो ।

अहिले अमेरिकी सेनाले दिएको बेल हेलिकप्टर पनि नेपालले ल्याएको छ । यसका साथै अमेरिकी एलन मस्कले स्टार लिंक नेपालमा ल्याउन पनि खुब कोसिस गरिरहेका छन् । सरकारले त्यसलाई स्वीकृत ग¥यो भने अमेरिकी बर्चस्व कायम हुने अवस्था रहन्छ । त्यसकै पूर्वतयारीकै उत्कर्षका रुपमा दलाई लामाको जन्मोत्सवलाई पनि लिन सकिन्छ । नेपालमा अहिले करिब तीस हजार तिब्बतियन शरणार्थीहरु रहेको तथ्यांक छ । उनीहरुलाई शान्तिपूर्ण रुपमा बसोबास गर्न दिइएको हो ।

अहिले गुम्बाहरुको प्रश्न पनि निकै आइरहेको छ । नेपालमा गुम्बा बुद्धको प्रतिमाको रुपमा बनाइएको हो । तर गुम्बाभित्रबाट गलत गतिविधि भएको हो भने त्यसको नियन्त्रण गर्नुपर्छ । नेपालको भूभाग चीनका विरुद्ध प्रयोग गर्न नदिन सबै नेपाली सचेत हुन जरुरी भइसकेको छ । नेपाली भूमिबाट अर्को कुनै छिमेकी देश विरुद्धका हर्कत गर्ने प्रयासलाई सबै मिलेर रोक्नुपर्छ ।

यहाँले पटक पटक चीनको विकासलाई नजिकबाट नियाल्दै आउनुभएको छ । आजको उदीयमान चीनबाट नेपालले कसरी लाभ लिनसक्छ ?
नेपाल दुई विशाल छिमेकीको बीचमा छ । यो कहिलेकाही चुनौती र कहिलेकाही अवसर पनि हुन्छ । भारत पुँजीवादी गणतन्त्र र चीन समाजवादी गणतन्त्रात्मक मुलुक हो । चीन ३० वर्षभित्र संसारकै समुन्नत मुलुकमा पुगिसकेको छ । अहिले अमेरिकासँग हर क्षेत्रमा प्रतिस्पर्धा गर्न चीन सक्षम भइसकेको छ । अर्थतन्त्र, प्रविधि र सैन्य क्षेत्रमा चीनको आफ्नै बलियो संरचना छ । यसले सारा दुनियालाई चकित पारिरहेको छ । चिनियाँ जनताले सुखी र सम्बृद्धि प्राप्त गरिरहेका छन्।

चीन जस्तो विकसित देशबाट नेपालले बहुआयामिक लाभ लिनसक्छ । विगतमा नेपालका राजामहाराजाले पनि चीनबाट पर्याप्त सहयोग ल्याएका थिए । अहिले खुला अवस्थामा चीनले धेरै सहयोग गर्न सक्छ । बेल्ट एण्ड रोड(बिआरआई) अवधारणा अन्तर्गत धेरै सहयोग लिन सकिन्छ । नेपालका अहिलेका शासकहरुले चिनियाँ सहयोगबाट फाइदा लिन सकिरहेका छैनन् । साम्राज्यवादी मुलुकको अफबाह र अनेकौं तवरले भ्रमित पारेर नेपालले चीनबाट सहयोग लिन दिइएको छैन । चिनियाँ सहयोगलाई बदनाम गर्ने र चीनको सहयोग रोक्ने प्रयत्न नेपालका शासकहरुले पटक पटक गरेका छन् । अहिलेको बालेन सरकारको त झनै चीन नीतिप्रति पूर्णतया अस्पष्ट छ ।

विगतमा ग्रेटर नेपालको नक्सा टाँस्ने तर अहिले दलाई लामाको जन्मोत्सव मनाउने कार्यले बालेन सरकारप्रति चीनको झनै आशंका बढेको छ । चिनियाँ सहयोग लिन सकियो भने हाम्रो देशको अर्थतन्त्र बलियो बनाउन सक्छौं । उत्तरतिरका सिमानाहरु खोलेर सीमावर्ती क्षेत्रका नागरिकलाई सहजता प्रदान गर्न आवश्यक छ । केरुङ नाकाले मात्रै पुगेको छैन । कोरलादेखि किमांथाका नाका खोलेर नेपाल– चीन व्यापार व्यवसाय सञ्चालन गर्नुपर्छ । त्यसले नेपाललाई हित गर्दछ ।

अब वाम आन्दोलनकै कुरा गरौं, नेपालमा वामपन्थी आन्दोलन कमजोर हुनुको मुख्य कारण के हो ?
नेपालको कम्युनिष्ट आन्दोलनले ७८ वर्ष पार गरेको छ । सुरुमा पुष्पलालले अघि सारेको लाइन नै ठिक देखिन्छ । जति बेला हामी क्रान्तिकारी वैचारिक राजनीतिक कार्यक्रम अघि सा¥यौं, त्यतिबेला वाम आन्दोलनले अग्रगति लिएको पाउँछौं । तर दक्षिणपन्थी र उग्रवामपन्थी भड्कावले कम्युनिष्ट आन्दोलनले गम्भीर धक्का खाँदै आएको छ ।

नेपालको वाम आन्दोलनमा पनि यी दुबै प्रवृत्ति विकराल समस्या हो । विगतका राजनीतिक परिवर्तन कम्युनिष्ट पार्टीकै उपज प्राप्त भएको हो । तर समयक्रममा आएका विचलनकारी प्रवृत्तिले कम्युनिष्ट आन्दोलन कमजोर बन्न पुग्यो । एमालेले पाँचौं महाधिवेशनबाट नयाँ जनवाद छाडेर जनताको बहुदलीय जनवाद ल्यायौं । त्यो सुधारवादी संसदीय लोकतन्त्रकै अवधारणा थियो । त्यसले पार्टीभित्र वैचारिक एवं सैद्धान्तिक कार्यक्रम कमजोर बन्न पुग्यो ।

यहीबीचमा उग्रवामपन्थी धार बलशाली भएर आयो । त्यही पचासको दशकमा तत्कालीन माओवादी र एमालेको बीचमा प्रतिद्वन्द्विता हाबी हुन पुग्यो । यही दुई धारलाई क्रान्तिकारी धारमा रुपान्तरण गर्न नसक्दा नेपालको कम्युनिष्ट आन्दोलनले आजको अवस्था भोग्नुपरेको हो । ६२÷६३ को जनआन्दोलनपछि कांग्रेस र कम्युनिष्टको संयुक्त पहलबाट लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । त्यसयता कम्युनिष्ट पार्टीले प्रचुर अवसर पाए पनि सही ढंगले सदुपयोग हुन सकेन ।

अहिलेको कम्युनिष्ट आन्दोलनमा घनघोर दक्षिणपन्थी धारा हाबी भएको छ । २०७२को संविधान निर्माणपछि त्यसलाई सच्याउने हामीसँग ठूलो अवसर थियो । हिजो जनतामा आश्रित कम्युनिष्ट पार्टी र नेताहरुले जनताको अपेक्षा पूरा गर्न सकेनन् । किसान, भूमिहीन लगायत अन्य श्रमिक वर्गको पक्षमा उपयुक्त काम गर्न सकिएन । विगतको अवसर र शक्तिलाई जनता र राष्ट्रको पक्षमा काम गर्र्न चुकेका हौं ।

विगतमा कम्युनिष्ट पार्टीले प्रशस्त अवसर पाउँदा पनि अपेक्षाकृत परिणाम दिन नसक्नुका पछाडि नीतिगत असफलता हो कि नेतृत्वको समस्या मुख्य हो ?
विगतमा हाम्रो सर्वशक्तिमाान सरकार बनेपछि जनताका समस्या सम्बोधन गर्न सकेनौं । हामीले भूमिसुधार, कृषि क्रान्ति, कृषि आधुनिकरण र मुलुकमा व्यपाक औद्योगिकरण गर्नुपर्ने थियो । अन्य कृषिजन्य उद्योग पनि उत्पादन गर्न सक्ने थियौं । तर त्यतातर्फ हाम्रा नेताहरुको ध्यान गएन । विगतमा मनमोहन अधिकारीले सुझाब लिएर लागू गर्नुभएको थियो । तर केपी ओली कमरेडलाई म आफैं गएर धेरै पटक सुझाब दिएको हुँ । तर के कति कारणले हो उहाँले त्यसलाई गम्भीरतापूर्वक लिनुभएन । पार्टी एकता पनि त्यसरी हतारिएर गर्नुभयो । तर त्यसलाई परिणाम दिनसक्नुभएन । हामीलाई जानकारी नै नदिएर गरिएको वाम एकताले पछि झनै घातक परिणाम ल्यायो ।

अहिले एमाले र नेकपाको बीचमा सहकार्य सुरु भएको छ । यसलाई कसरी लिनु भएको छ ?
गत फागनु २१ को चुनाव अघि नै मैले एमाले अध्यक्ष ओलीलाई सहकार्यका लागि अपिल गरेको थिए । तर उहाँले त्यसलाई सामान्य ढंगले लिएर उडाउनुभयो । त्यसपछि प्रचण्ड कमरेडलाई पनि वाम सहकार्यको लागि आग्रह गरे । उहाँले पनि त्यसलाई हल्का ढंगले लिएर कुनै पहल गर्नुभएन । भुइँतहको अवस्था नबुझेर दुबै पार्टीका नेताहरुको हठले त्यतिबेला वाम एकता हुन नसकेको हो । त्यतिबेला मिलेको भए नेपालको राजनीतिक अवस्था यतिबेला अर्कै हुन्थ्यो । परिस्थितिको यथार्थ नेतृत्वले नबुझ्दा कम्युनिष्ट आन्दोलन शर्मनाक अवस्थामा पुगेको छ । अहिले ओली प्रचण्डले गरेको तीन बुँदे सहमति आफ्नो भाँच्चिन लागेको कुर्सी जोगाउने उपाय बाहेक अरु केही होइन ।

कम्युनिष्ट आन्दोलनमा नेतृत्व हस्तान्तरणको समस्या किन आयो ?
मैले माक्र्सवाद अध्ययन गर्दैगर्दा माक्र्स थप सय वर्ष बाँचेको भए अरु थप विषय कति जान्न पाइन्थ्यो होला भन्ने लाग्छ । अन्तर्राष्ट्रियस्तरकै विश्वविख्यात प्रतिभावान नेताको जीवन पनि निश्चित छ । हाम्रो जस्तो देशमा पार्टी विभाजन गरेर गुटको नेता बन्ने अनि आफैं नेतृत्वमा रहने र नेतृत्व छाडे प्रलय आउने भ्रममा नेताहरु रहेका छन् । नेपालमा विगतदेखि व्याप्त सामन्तवादकै प्रतिबिम्ब कम्युनिष्ट आन्दोलनमा देखा परेकोे छ । यो प्रवृत्ति अहिले पनि कैयौं नेताहरुमा छ ।

एमालेमा ओलीले अध्यक्ष छाडे एमाले विघटन त हुँदैन नि ? नेकपामा पनि प्रचण्ड माधव नेपाल नेतृत्वमा नभएर यो पार्टी चल्दैन ? शीर्ष नेतृत्वले पद मात्रै छाड्ने हो भने पार्टी आफ्नै विधिबाट सञ्चालन हुन्छ । माधव प्रचण्डले नौ महिना भइसकक्यो एकता प्रक्रिया अझै टुंगो लगाउन सकेका छैनन् । नयाँ पिढीलाई नेतृत्व दिने हो भने दुई मिहनामै टुंगो लगाउँछन् । पार्टी नेतृत्वमा नयाँ युवा आउने हो भने अहिलेका कम्युनिष्ट पार्टी अर्कै ठाउँमा पुग्छन् । अहिले भएकाहरु मध्येबाटै तुलनात्मक रुपले योग्य पात्र छानेर नेतृत्व निर्माण गर्नुपर्छ । पार्टी कमिटीले नेतृत्व निर्माण गर्ने हो ।

कम्युनिष्ट आन्दोलनको यही कमजोरी देखेर नै मैले एमालेको नवौं महाधिवेशनमा पार्टी नेतृत्व दुई कार्यकाल बढी नबस्ने र उमेरहद लगायतका विषय लागू गर्न प्रयत्न गरेको थिए । तर अहिले ती सबै कुरा लत्याएर ओलीजी अघि बढेपछि नै एमालेमा संकट आएको हो । कम्युनिष्ट पार्टी कमिटी प्रणाली, सामूहिक नेतृत्व, सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारीको विधिमा रहेर सञ्चालन गर्नुपर्छ । अन्यथा, कम्युनिष्ट आन्दोलको विघटनलाई कसैले रोक्न सक्दैन ।

प्रतिक्रिया दिनुहोस्