
काठमाडौं । कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेसका ४ मन्त्री र १ राज्यमन्त्रीले राजीनामा दिने भएका छन् ।
कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले आजै राजीनामा गर्न दलका नेता उद्धव थापाले मन्त्रीहरूलाई निर्देशन दिएको बताए । मन्त्रीहरूले सोही अनुसार राजीनामा दिने तयारी गरेको आफूले थाहा पाएको उनले बताए ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले भोलि बिहानसम्ममा कांग्रेसका मन्त्रीले राजीनामा दिने जानकारीमा आएको बताए ।
कोशी सरकारमा कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाकार विकास मन्त्रालयकी राज्यमन्त्री शोभा चेम्जोङ रहेका छन् ।
नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबिच सहकार्य गर्न तीन बुँदे सहमति भएपछि कांग्रेस प्रदेश सरकारबाट बाहिरिएको हो ।














