Logo
Logo

इभीको बजार चम्किँदै, नीतिको अस्थिरताले भविष्य धमिलिँदै


252
Shares

काठमाडौं । नेपालमा हरेक वर्ष नाडा अटो शो चल्दै आएको छ । गत वर्षदेखि नाइमाले पनि अटो शोको आयोजना गर्दै आएको छ । पछिल्लो वर्षमा नेपालमा इभी गाडीहरुप्रति उपभोक्ताहरु बढी आकर्षित भएका छन् । एक तथ्यांकका अनुसार नर्वेपछि इभी गाडीको प्रयोगकर्ताहरु बढी भएको देश नेपाल हो । हरेक नेपालीका लागि यो गर्वको विषय पनि हो । अहिले नेपालको सडकमा सबैखाले इभी करिब ६३ हजार गुडिरहेका छन् ।

हाम्रो देशले पेट्रोलियम पदार्थ उत्पादन गर्न नसके पनि विद्युत् उत्पादन गर्दै आएका छौं । पेट्रोलियम पदार्थको आयातले बर्सेनि खर्बौं रुपैयाँ व्यापारघाटा बढाइरहेको मात्र छैन, मर्मतसम्भारका लागि गाडीका पार्टपुर्जादेखि लिएर अन्य सामग्री आयातमा अर्बौं रुपैयाँ खर्च पनि गरिरहेका छौं । तर, इभी गाडीमा त्यति धेरै खर्च छैन, न त पेट्रोलियम गाडीमा जस्तो पार्टपुर्जा नै यसमा छ ।

विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको मार हामीमाथि थोपरिन्छ । अझ कहिलेकाहीँ पेट्रोलको अभावले हाम्रो जनजीवन नै ठप्प हुन्छ । यसको समाधानको एउटै उपाय भनेको निजी, सार्वजनिक क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग हो । तर, नेपालमा विद्युतीय सवारीसाधनलाई प्रोत्साहित गर्ने स्थिर नीति छैन । जसका कारण आयातकर्ताहरु हैरान मात्र भएका छैनन्, उपभोक्ताहरुसमेत अन्यौलमा पर्ने गरेका छन् । स्वदेशको विद्युत् स्वदेशमै खपत गर्ने र पैसा जोगाउने एउटै उपाय भनेको विद्युतीय सवारीसाधनमा सरकारको स्थिर नीति हो । यसले आत्मनिर्भर अर्थतन्त्रलाई टेवा दिँदै भविष्यमा खर्बौंको पेट्रोलियम पदार्थको आयातलाई क्रमशः विस्थापित गर्दै वातावरण प्रदूषणलाई समेत नियन्त्रण गर्छ ।

नेपालमा विद्युतीय सवारीप्रति आकर्षण बढिरहेको बेला त्यससम्बन्धी उपभोक्ताहरुमा ज्ञानको अभाव छ । जसको फाइदा इभी आयातकर्ताहरुले लुटिरहेका छन् । हेर्दा आकर्षक फिचर, १० वर्ष ब्याट्री ग्यारेन्टी, वारेन्टी, एकपटकको चार्जमा ३०० देखि ५०० सम्मको माइलेज, अडियो, भिडियो सुन्नका लागि अत्याधुनिक साउन्ड सिस्टम, कारभित्र पारदर्शी रुफ, गाडीको चारैतिर क्यामेरा जडान आदि भनेर उपभोक्तालाई लोभ्याइन्छ । यसैमा उपभोक्ता लोभिन्छन् र फस्छन् ।

तपाईँ कुनै पनि इभी गाडीको शोरुममा जानु भयो भने यस्ता कुराले तपाईंको दिमाग खल्बल्याउँछ । तपाईँलाई पनि यही इभी किनुकिनु लाग्छ । र, तपाईंको मनोविज्ञान बुझेपछि विक्रेताले तपाईँलाई जसरी भए पनि गाडी भिडाइहाल्छन् । यसरी फस्नेहरु धेरै छन् । जो इभी किनेर पछुताएका पनि छन् । यस्ता इभी गाडीहरु सडकमा गुड्न थालेपछि विभिन्न समस्याले धेरैलाई पीडा दिएको छ । भनेजस्तो माइलेज नदिने, ब्याट्री चार्ज गर्दा विभिन्न समस्या उत्पन्न हुने र कतिपय बेला ब्याट्री चार्ज गर्दागर्दै पड्किने, आगो लाग्ने घटना पनि नेपालमा घटेका छन् । तर, यो घटनालाई कम्पनीहरुले लुकाएका छन् ।

त्यसैले इभी गाडी चढ्नु धेरै राम्रो सोच हो, तर गाडी किन्दा होस् पु¥याउनु भएन भने तपाईँको जिन्दगीभरको कमाइ र सपना धुलोमा मिल्छ । त्यतिमात्र होइन, नेपालमा आयात भएका केही इभी कम्पनीहरु बन्द हुँदा उपभोक्ताहरुले सास्ती भोग्नुपरेको छ । सर्भिस सेन्टरमा स्टक पार्टपुर्जा नहुँदा सानोतिनो सामान फेर्न पनि महिनौं कुर्नुपर्ने बाध्यता छ । अझ बन्द भएका कम्पनीहरुबाट किनेको इभीको त सामान नै बजारमा पाइँदैन । त्यसैले इभी चढ्ने रहर गरेर मात्र हुँदैन । चढिसकेपछि कम्पनीले भनेको सबै शर्त पूरा गर्न राम्रो अन्तर्राष्ट्रियस्तरको ब्राण्ड रोज्नुपर्छ । अर्थात्, जुन विश्वासले तपाईँले इभी चढ्नु भएको छ, त्यो विश्ववास दशौं वर्षसम्म पनि तपाईँलाई कम्पनीले दिन सकोस् ।

त्यस्ता ब्राण्ड नेपालमा कमै आयात भएका छन् । नेपालमा आयात भएका इभी गाडीहरु अन्तर्राष्ट्रिय मापदण्डदेखि लिएर चीनको लोकल बजारमा चल्नेसम्मको इभी नेपालमा पाइन्छ । बुझ्नेले भने यी सबै कुरा बुझेर मात्र इभी चढ्छन्, नबुझ्नेलाई कम्पनीले फसाउन शोरुमका कर्मचारीहरुले दिमाग चाट्छन् ।

सुनिन्छ, चीनमा समेत नाम नसुनेको इभी गाडी नेपालका बजारमा छ्यापछ्याप्तै छन् । सस्तो मूल्य, हेर्दा आकर्षक देखिने यस्ता गाडीबाट उपभोक्ता ठगिने भएकोले इभी किन्दा अन्तर्राष्ट्रिय बजारमा चलेको इभी नै किन्नुपर्छ । इभीको आयु भनेको त्यसको भविष्य हो । त्यसैले जुन कम्पनीको इभी किन्ने हो, ब्याट्री पनि त्यही कम्पनीले बनाएको हो कि होइन भन्ने कुरा पहिला बुझ्नुपर्छ । इभीको मुख्य मुटु भनेको ब्याट्री हो । त्यसमा कुनै पनि हालतमा ‘कम्प्रोमाइज’ गर्न हुन्न ।

अहिले नाडा र नाइमाको महोत्सव आउँदैछ । गाडी आयातकर्ताहरुले धमाधम सस्तो, आकर्षक इभीहरु आयात गर्दैछन् । मिडियामा समेत ग्राहक झुक्याउने विज्ञापन सामग्रीले भरिएका छन् । उनीहरुको ध्यान उपभोक्ताको दीर्घकालीन विश्वास जित्ने भन्दा पनि एक जनालाई, एकपटकमा कसरी झुक्याउने भन्ने हुन्छ, त्यसमा सजग हुनुपर्छ । भनिन्छ, मान्छेलाई एकपटक झुक्याउन सकिन्छ, सधैँ सकिन्न । त्यो झुक्किनेमा तपाईँ नपर्नुहोला ।

हुँदाहुँदा गत वर्ष प्रधानमन्त्रीलाई समेत अटो शोमा उड्ने कार भनेर त झुक्याइयो । अहिले चीनका राष्ट्रपति चढ्ने कार भनेर झुक्याइँदैछ । यस्ता गलत प्रचारप्रसारप्रति सरकारको नियमन फितलो देखिन्छ । नेपाली बजारमा आयात भएका इभी गाडीहरु कुन मापदण्डका हुन् भन्ने विषयमा पनि गहिरो अध्ययन हुनु जरुरी छ । अन्यथा, इभी गाडी आयात गर्ने नाममा देशले खर्बौं डलर खर्च गरेर नेपाललाई डम्पिङ साइट बनाउने खतरा छ ।

प्रतिक्रिया दिनुहोस्