Logo
Logo

लेखन यात्राका उकाली-ओराली


3.1k
Shares


चीनमा हुँदा मेरो लेखनले राम्रै गति लिएको थियो । लेखहरू अन्य देशमा समेत पुगे । विभिन्न भाषामा छापिए पनि । त्यसले मेरो मनोबललाई उठाएको थियो । “म त थाहै नपाई विश्वकै निम्ति लेख्न थालेछु” भनेजस्तो पनि लाग्न थालेको थियो । तर घर फर्कने बित्तिकै “मेरो जीवनको अर्को यथार्थ पनि छ” भन्ने कुराले झल्याँस्स भएँ । फर्केपछि लामो समय नै मेरो कलमले विश्राम लियो । चीनमा छँदाको पछिल्लो अवधिमा एउटा लेखका निम्ति २ सयदेखि ४ सय डलरसम्म पाइसकेको मान्छेले बच्चाहरुलाई ट्युशन पढाएर महिनामा एकहजार कमाउनु पर्ने अवस्था पनि आयो ।

फर्केर आएपछि पुरै अवसर नै नपाएको पनि हैन । फर्केको केही समयपछि नै चीनको एउटा पुस्तकालयले लेखनको राम्रै काम जिम्मा दिन खोजेको थियो । पत्र नै प्राप्त गरेकी थिएँ । पुस्तकालयको निम्ति नेपालकै बारेमा एउटा किताब लेख्नुपर्ने थियो । त्यसबाट दाम पनि हुन्थ्यो, नाम पनि । तर त्यो काम जिम्मा लिन सक्ने मेरै अवस्था भएन । महिलाका निम्ति घर न्यानो र सुरक्षित ठाउँ मात्र नभएर बन्दी हुने ठाउँ पनि हुन पुग्छ कहिले कहिले ।

स्वतन्त्रपूर्वक कामगर्न सक्ने अबस्था थिएन । त्यतिबेला त्यो काममा मलाई सहयोग र आँट दिन सक्ने मान्छे भनेको सरोज मात्र हुन सक्थे । तर उनी “नयाँ अस्पताल बनाउने ध्याउन्नामै चुर्लुम्म डुबेका थिए । घरबाट बिहान निस्किएपछि बेलुका कतिबेला फर्किने हो, थाहा हुँदैन थियो । मैले पाएको अवसर उनका निम्ति गौण हुन पुग्यो । त्यही काममा सघाउन सक्ने घरमा अरु कोही थिएनन् । बच्चा सानो हुञ्जेल त अरु कुनै काम गर्न अवसर भए पनि गर्न सजिलो नहुँदो रहेछ ।

जब विश्वभाषा क्याम्पसमा पढाउन थालेँ, अनि बल्ल ममा भएको उर्जा पुनर्जागृत भयो । घरबाट निस्केर क्याम्पस सम्म पुग्दा मेरो मनको आकाश पनि अलिअलि खुल्न थाल्यो । विश्वभाषामा नियमित पढाउन थालेपछि घरमा आफ्नो बच्चा हेर्न एकजना भरपर्दो सहयोगीको खाँचो भयो । बन्दोबस्त पनि भयो । बिहानदेखि साँझसम्म बस्ने एकजना सहयोगीलाई राम्रै पैसा दिएर राख्न सकेँ । ती महिलाप्रति पनि म कृतज्ञ छु । मेरी सानी छोरीलाई साँच्चै माया गर्थिन् तिनी । सानी छोरीलाई खुवाउन सानैदेखि गाह्रो थियो। तर उनी फकाइ–फुल्याइ बेलैमा खुवाइदिन्थिन् । बाहिरबाट नदेखिने यस्ता साना मसिना कुराले पनि महिलाको जीवनमा कति ठुलो प्रभाव पार्ने हुँदो रहेछ ! काम गरेर घर फर्किँदा बच्चाहरुको अनुहारमा खुसी देख्नु र नदेख्नुले कति फरक पार्दो रहेछ दैनिक जीवनमा !

विश्वभाषा क्याम्पसमा दिल खोलेर आफ्नो भएभरको क्षमता लगाएर काम गर्न थालेँ । “म आफै राम्रो विद्यार्थी हुन नसके पनि राम्रो शिक्षक त हुँ” भन्ने आत्मविश्वास थियो मनमा । त्यसबेला चिनिया भाषाको एक्लो नेपाली प्रशिक्षक भएकाले र चीनले दिएको शिक्षाको गुन तिर्न भनेर पनि म ज्यादै मिहेनत गर्थेँ । विद्यार्थीहरुकै निम्ति पनि म एकजना राम्रो शिक्षक हुन पाएँ । विद्यार्थीहरुले पनि रुचाएको र माया गरेको म बुझ्थेँ ।

विश्वभाषाका विद्यार्थीहरु भनेका साना बच्चा हुने कुरा भएन । अहिले मेरा ती विद्यार्थीहरुमध्ये धेरैले धेरै ठुल–ठुला काम गरिसकेको सुन्न पाउँदा र बेलाबेलामा “म्याडमले मलाई पढाउनु भएको हो नि !” भनेको सुन्न पाउँदा पनि हर्षित हुन्छु । ती विद्यार्थीहरुको प्रगति उन्नति देखेर मनमा ठुलो सन्तोष मिल्छ । कति विद्यार्थीहरु त उबेला नै अन्य विषयका ज्ञाता भइसकेका थिए । युनिभर्सिटीको पढाई सकेर चिनिया भाषा सिक्न भनेर मात्र आएका हुन्थे ।

स्कूलबाट होस् या कलेजबाट– शिक्षक भएर मैले ठुलो सन्तोष पाएकी छु । विश्वभाषाको लेक्चरर त भएँ, तर युनिभर्सिटीबाट प्रोमोशन वा हौसला मिल्ने कुरा भने कहिल्यै भएन । म बस्दाबस्दै धेरै क्याम्पस चीफहरु फेरिए । तर मलाई प्रवेश दिने चन्द्रप्रकाश सरले पनि विश्राम लिईसक्नु भएको थियो । चीनबाट दुईवर्षको निम्ति एकजना चिनिया भाषा प्रशिक्षक पठाउने काम पनि पुनः नियमित हुन थाल्यो । पढाउन आएका विभिन्न चिनिया शिक्षकहरुसँग पनि राम्रै मित्रता भयो । तर त्यो मित्रता पछिसम्म कायम राख्न भने सकिन ।

चिनिया भाषा शिक्षणको स्थिरताको निम्ति क्याम्पस प्रमुख धनप्रसाद पण्डित सरको पालामा मलाई चिनिया भाषा विभागिय प्रमुखको जिम्मा पनि दिइयो । चीन र नेपालको मैत्री सम्बन्धको निम्ति विश्वभाषा क्याम्पसको पनि भूमिका हुने भएकोले धेरै पल्ट चिनियाँ राजदूतावासको निम्ति कतिपटक भाषाको पुल पनि बनेकी छु । मलाई स्थाई बनाउनको निम्ति धनप्रसाद सरले गर्नु भएको मद्दतको निम्ति म कृतज्ञ छु । तर युनिभर्सिटीले नै दरबन्दी नराखि दिएपछि मेरो प्रोमोशन हुने त कुरै भएन । सरकारको होस् या युनिभर्सिटीको, यस्ता मामलामा दूरदर्शिताको कमि कुनै नौलो कुरै भएन । अनि त काम गरेअनुसारको जस वा मान्यता कसरी पाओस् ! पछि लगातर काम गर्न जाँगर केही कम पनि भयो । अर्को योग्य शिक्षक नहुन्जेल त्यहाँ पढाउने काम छोडिन । भित्रबाट लागिरहन्थ्यो– चीनले मलाई पढ्न दिएको थियो , त्यही रिन तिर्दैछु भन्ने ।

बिचमा उही क्याम्पसमा काम गर्दा गर्दै नेपालभाषा पढाउने शिक्षकको पनि आवश्यकता भयो । नेपालभाषामा एमए गरिसकेको भएर त्यो कक्षा पनि लिने जिम्मा पाएँ । अनि नेपाली विद्यार्थीलाई चिनियाँ भाषा र विदेशीलाई नेपालभाषा पढाउन थालेपछि दुई भाषा पढाउन थालेपछि फेरि रमाउन थालें ।

त्यही बेला लेखनमा पनि मेरो सक्रियता बढ्दै थियो । विभिन्न पत्रपत्रिकामा फाट्टफुट्ट लेखिरहेकै थिएँ– कतै नियमित कतै कहिलेकाहीँ । कहिले कान्तिपुरमा कहिले हिमाल त कहिले अन्नपूर्ण दैनिकमा । वि.सं. २०५१ सालदेखि चाहिँ ‘सम्पूर्ण आकाश’ को स्तम्भमा नियमित नै लेख्न थालेको अब त निक्कै वर्ष भइसक्यो फर्केर हेर्दा ।

पछि ‘बुधवार साप्ताहिक’मा पनि ‘सम्पूर्ण आकाश’कै नामको स्तम्भ लेखिदिनुप¥यो भने । त्यहाँ लामै समय हरेक हप्ता लेख्न थालें । कुनै बेला लामो समय नै लेख्न भ्याउँदिन पनि थिएँ । त्यस्तो बेला अरु साथीहरुले लेख्नु हुन्थ्यो । लेखक सम्पादक मित्रहरुबाट मलाई सधैं सहयोग नै मिलेको छ जुनै पत्रिकामा लेख्दा पनि । म उहाँहरू सबैप्रति कृतज्ञ छु । उहाँहरूको सहयोगले नै मैले लेखनयात्रालाई निरन्तरता दिन सकेँ ।

पिएचडीको लागि विश्वभाषाको अध्यापनबाट मैले ‘अर्धविश्राम’ लिने निधो गरेँ । आफूले लिइरहेका कक्षा अरु शिक्षकहरूको जिम्मामा छोडेर थेसिस सिध्याउन भनी छुट्टि लिएकी थिएँ । पछि छोटो अवधिका निम्ति एकपल्ट नेपालभाषा पढाउन फर्कें पनि । तर अनेक कारणले नियमितता दिन सकिन । यसरी मेरो औपचारिक शिक्षण पेशाले पुरै विश्राम लियो र लेखककै मात्र पहिचान बाँकी रह्यो ।

प्रतिक्रिया दिनुहोस्