Logo
Logo

भैरहवा र पोखरा विमानस्थल छिट्टै पूर्ण रूपमा सुचारु हुन्छन् : सभामुख अर्याल


378
Shares

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई छिट्टै पूर्ण रूपमा सञ्चालनमा आउने बताएका छन् ।

The current image has no alternative text. The file name is: dp-aryal-1.jpg

यसका लागि सरकारले घनीभूत छलफल गरिरहेको बताएका हुन् । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाटा० को ५९ औँ वार्षिक साधारणसभालाई शुक्रवार सम्बोधन गर्दै अर्यालले ती विमानस्थलबाट हवाई सेवाले छिट्टै निरन्तरता पाउने विश्वास व्यक्त गरे । अर्यालले निजगढ विमानस्थल निर्माणको विषयमा समेत सरकार गम्भीर रहेको र यसबारेमा आवश्यक बहस अगाडि बढिरहेको जानकारी दिए । उनले पर्यटन क्षेत्रको विकासका लागि प्रविधिको उच्चतम सदुपयोग गर्नुपर्ने र नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्न विशेष पहल आवश्यक रहेकोमा जोड दिए ।

वर्तमान सरकार र संसद्मा युवाहरूको बाहुल्यता रहेको उल्लेख गर्दै उनले विकास प्रक्रियाका लागि केही समय धैर्य गर्न नागरिकलाई आग्रह गरे । अर्यालले समाजमा नकारात्मक सन्देश प्रवाह गर्दा मुलुक असफलतातिर जाने भन्दै सकारात्मक सोचका साथ अघि बढ्न सरोकारवालाहरूलाई आग्रह गरे । वर्तमान सरकारले मुलुकलाई समृद्ध बनाउने ऐतिहासिक म्यान्डेट पाएको दाबी गर्दै उनले पर्यटन मात्र नभई उत्पादन, आयात–निर्यात र सुशासनका क्षेत्रमा समेत सुधार ल्याउने प्रतिबद्धता व्यक्त  गरे । 

सभामुख अर्यालले भने, ‘भैरहवा र पोखरा विमानस्थलका विषयमा घनीभूत छलफल भइरहेको छ । मलाई विश्वास छ, छिट्टै यी विमानस्थलले निरन्तरता पाउनेछन् र त्यहाँबाट हवाई सेवा सुचारु रूपमा सञ्चालन हुनेछ । निजगढ विमानस्थलको विषयमा पनि बहस अघि बढिरहेको छ र सरकार यसमा गम्भीर छ । प्रविधिको अधिकतम प्रयोग गर्दै युवा तथा नयाँ पुस्तालाई पर्यटन क्षेत्रमा आकर्षित गर्नुपर्छ । सरकार र संसद्मा युवाहरूको बाहुल्यता छ । उहाँहरू हाम्रै दाजुभाइ–दिदीबहिनी र छोराछोरी हुनुहुन्छ । त्यसैले सरकारले आजै सबै काम गरिहालेन भनेर आत्तिनु हुँदैन। विकास र समृद्धिको यात्रा लामो हुन्छ, समय लाग्छ । यो यात्रामा नागरिकको भूमिका पनि महत्त्वपूर्ण छ । हामीले नै समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ । सरकार असफल भयो, केही गर्न सकेन भन्ने नकारात्मक सन्देश फैलाएर होइन, सुधार र विकासका लागि साथ दिएर अघि बढ्नुपर्छ । अबको सरकार असफल हुने छुट छैन । नेपालको इतिहासमा सम्भवतः पहिलो पटक सरकारले र प्रतिनिधिसभाले स्पष्ट जनादेश पाएका छन् । अब नेपाल समृद्ध बनाउनै पर्छ । पर्यटन मात्र होइन, उद्योग, उत्पादन, आयात–निर्यातलगायत सबै क्षेत्रलाई समृद्धिको एउटै दिशामा अघि बढाउनुपर्छ । सुशासन कायम गर्दै भ्रष्टाचारलाई जरैदेखि अन्त्य गर्ने अभियान सरकारले सुरु गरेको छ, यसमा हामी सबैको साथ आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्