Logo
Logo
पाठकपत्र

पत्रकारिता कि जन्ती जर्नालिज्म ?


315
Shares

शम्भुजी,
नमस्ते ।
दृष्टि नियमित पढिरहेको छु । सधैँको झैं दृष्टि आफ्नै गतिमा कुदिरहेको छ । आजको डिजिटल युगमा साप्ताहिक पत्रिकाले पस्कने मिडिया कन्टेन्ट यस्तै हो । नेपालका मूलधारका मिडियामा हिजोआज जे बिक्छ त्यही लेख्ने महामारी छ । यो क्रम बालेन सरकारले हनिमुन पूरा नगर्दै सुरू भएको हो र अहिले यो चरम अवस्थामा छ । कहिलेकाहीँ त लाग्छ, यो रोग युट्यूबेलाई भन्दा पनि जिम्मेवार सबै पत्रकारहरुलाई बढी लागेको छ ।

अमेरिकाका मूलधारे मिडिया (जसलाई लिगेसी मिडिया पनि भनिन्छ ) लाई यस्तो रोग लागेको एक दशक भैसक्यो । सन् २०२३–२४ तिर त यस्तो स्थिति आयो कि बहुमत अमेरिकीहरू मूलधारे मिडियाको कन्टेन्टलाई विश्वास नै गर्न छोडे । त्यसैको परिणाम हो, राष्ट्रपतिमा ट्रम्पको जीत ।

यो घटनाबाट केही मिडियाले पाठ सिकेका छन्, केही एसतै छन् । जसले सिके उनीहरूको पहिरो गएको पाठक र दर्शकको संख्या बिस्तारै उकालो लाग्दैछ । जसले सिकेनन्, उनीहरूको हालत अरू नाजुक भएको छ । मलाई लाग्छ, अहिलेको नेपालको अवस्था अमेरिकाको २०२३–२४ को जस्तै छ । ठ्याक्कै नहोला तर लगभग त्यस्तै ।

मिडियाको एउटा सिद्धान्त छ, (मिडिया डिपेन्डेन्सी थ्यौरी) । यसले भन्छ, जब जब असामान्य अवस्था आउँछ, मानिसहरू मिडियामा धेरै भर पर्छन्, मिडियाको धेरै खपत गर्छन्, पछ्याउँछन् । तर, यस्तो अवस्थामा मिडिया चुके भने उनीहरूको मिडियाप्रतिको विश्वास पूरै चकनाचुर हुन्छ । र, उनीहरू कहिलै पनि त्यो मिडिया पढ्दैनन्, हेर्दैनन् । अर्थात् मिडियामाथि भर पर्न छोड्छन् ।

पछिल्ला दुई घटना चाहे त्यो गणेश नेपाली प्रकण होस् वा सुनसरी–देवानगञ्ज प्रकरण, दुबैमा नेपाली मिडिया खासै संवेदनशील देखिएनन् । उनीहरूले यी घटनालाई मूलतः बालेन र सरकारलाई घेराबन्दी गर्ने सुनौलो अवसर मात्रै ठाने । नेपाल र नेपालीको समस्याका रूपमा नभएर मात्र बालेनको समस्या ठानेर आगोमा घ्यू थप्ने काम गरे । मिडियाले त्यसो नगरेको भए यी घटनाको फिलिंगो सुरूमै निभ्थ्यो, सल्केर डढेलो नै लाग्ने थिएन ।

मिडियाले आत्मदाहलाई ‘ग्लोरिफाइ’ गरेकै कारण आत्मदाह गर्न चाहनेको मनोबल बढ्यो । यसले ‘कपिक्याट सुसाइड’ नै बढायो । मिडियाको भूमिकालाई लिएर सांकेतिक रूपमा गेटमा राखिएका गाडीलाई मिडियाले प्रेस फ्रिडमसँग जोडे । आफ्नो भूमिकाको समीक्षा गर्नुको सट्टा उल्टै बालेनप्रति आगो भए र थप घेराबन्दीमा लागे ।

हो, नेपालमा समस्या छ । तर समस्या आजको रूपमा हुनुको कारण व्यक्तिगत पनि छ । व्यक्तिगत अति महत्वाकांक्षा, त्यो हासिल गर्न नसक्दाको हिनातबोध र फ्रस्ट्रेसनका कारण यो चरम अवस्माथा सिर्जना भएको हो । यसका लागि सरकार, पद्धति र समाज सबै दोषी छन् । समाजको एक सदस्य भएकाले मिडिया फर्टिनिटी पनि दोषी छ । यो समस्या बालेनले नयाँ बनाएको हैन, विरासत स्वरूप प्राप्त भएको हो ।

तर, नेपाली मूलधारे मिडियाले यस्तो भाष्य निर्माण गरे कि यो सबै बालेनकै कारण भएको हो । मिडियाले न्यायाधीश भएर यस्तो फैसला सुनाएपछि बालेनसँग बदला लिनुपर्ने सबैको मनोबल ह्वात्तै बढ्यो । के मिडियाले यस्तो भाष्य निर्माण गर्दैमा रातारात बालेन बाहिरिने स्थिति छ ? छैन । त्यसो भए उनलाई यति बढी बदनाम गरेर प्राप्त हुन्छ के ?

बढीमा प्राप्त हुने भनेको रविको सत्तारोहण हो । के बालेनभन्दा रवि बढी मिडियामैत्री छन् ? के बालेनभन्दा रवि बढी स्वच्छ र योग्य हुन् ? यदि कुनै मिडियालाई त्यस्तो लाग्छ भने त्यो आफैंमा ठूलो भ्रम हो । त्यो भ्रमले अन्ततः त्यस्ता मिडियाकै विश्वसनियतामा ह्रास आउँछ । यो क्रम बढ्दै जाँदा तिनीहरू आफैं सकिन्छन् ।

केही समययता दृष्टिले पनि त्यही किसिमको जन्ती जर्नालिज्म त गरिरहेको छैन शम्भुजी ? मलाई यदाकदा त्यस्तो लाग्न थालेको छ । बालेनको बिरोध जे जसरी गर्न सकिन्छ, खोजी खोजी त्यसै गरिरहेको जस्तो लाग्छ । उनको विरोध गर्ने नाममा स्वर्णिमजस्तो लोभी, पापी र पाखण्डलाई काँधै हाल्ने काम गरिरहेको देख्छु । दृष्टिको एक अंकमा मात्र होइन, हरेक अंकमा यस्तै देख्छु । याद गर्नुहोला, कुनै दिन उसले काँधमै पिसाब फेरिदिन सक्छ । उसको विगतले यस्तै भन्छ ।

म बालेनको समर्थक हैन । तर, एउटा सत्य के हो भने नेपालको बेथितिलाई कसैले केही मात्रामा भए पनि ठीक गर्छ भने त्यो बालेनले गर्छ । उसको एकलकाँटे व्यवहार, दुस्साहसले नै गर्छ । यो निश्चित छ कि नेपाल सहजै प्रणालीमा फर्कनेवाला छैन, नेपाली सहजै चेत्नेवाला पनि छैनन् ।

बालेन मनमौजी छन् । तर, यसको कारण पनि छ । त्यो के भने उसले फागुन २१ गतेको चुनाव प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीकै रूपमा जितेको हो । उसलाई नै रास्वपाले प्रधानमन्त्रीको उम्मेद्वार बनाएको हो । उसलाई नै प्रधानमन्त्री बनाउन भनेर जनताले मतदान गरेका हुन् । धेरैलाई के थाहा थियो, भोट घण्टीमा हाल्ने बालेनलाई प्रधानमन्त्री बनाउने । त्यसो गर्दा को जित्छ, को हार्छ– उनीहरूलाई त्यसको पनि कुनै मतलव थिएन । के पनि सत्य हो भने मधेसका ३० मध्ये अधिकांश सांसद त बालेनलाई प्रधानमन्त्री बनाउन जिताइएका लट्ठी नै हुन् ।

एकछिन कल्पना गरौं त, बालेन रास्वपामा प्रवेश नगरेर कुलमान घिसिङसँग छुट्टै पार्टी बनाएर चुनावमा गएको भए के हुन्थ्यो ? मलाई लाग्छ, एकल बहुमत नल्याए पनि कम्तीमा त्यही उसकै पार्टी संसद्को सबैभन्दा ठूलो पार्टी बन्थ्यो होला ।
चुनावको बेला बालेनको कद कति अग्लो थियो भन्ने कुरा त ओलीलाई दमक ५ मै ५ दोब्बर मतले जितेको घटनालाई हेर्न सकिन्छ । यो आफैंमा अद्भूत आँकडा हो, जीत हो । यति ठूलो जीत हात पारेपछि उसमा एक किसिमको कार्यकारीपन आउनु अस्वभाविक हैन । उसले नयाँ भएर जितेको हो । त्यो भनेको उसको कार्यशैली पनि त नयाँ नै हो, जसलाई जनताले फागुन २१ मा अनुमोदन गरेका हुन् ।

एकछिन कल्पना गर्नुहोस्, बालेन असफल भयो रे, त्यसपछि के हुन्छ ? योभन्दा थप निराशा, कुण्ठा र जलन । त्यसले देशलाई कता लैजान्छ, समाजलाई कता लैजान्छ ? विश्व परिस्थिति पनि क्रमशः यस्तो बन्दैछ कि यसअघि जस्तो अनेक बहानामा विदेश जान सकिने स्थिति पनि छैन । अमेरिका लगभग बन्द भैसक्यो । अचाक्ली आप्रवासीको चपेटामा परेको युरोप पनि बन्द हुँदैछ । हरेक देशमा आप्रवासी विरोधी लहर नै देखिएको छ ।

विश्वास गरे हुन्छ, अब संसार पहिलाजस्तो आप्रवासीमैत्री हुँदैन । ट्रम्प गए पनि अमेरिका पहिलाजस्तो हुँदैन । किनकि अमेरिकाको घरेलु चुनावी राजनीति ६ राज्यले निर्धारण गर्छन् ,५ सिनेट सिटले तय गर्छ, १२ कंग्रेस संसदीय क्षेत्रले निर्धारण गर्छ । ती सबैमा अहिले पनि रिपब्लिकन पार्टीको पल्ला झरिसकेको छैन ।

त्यहाँका अमेरिकी जनता (मतदाता) अमेरिकाको मूलधारे (लिगेसी) मिडिया नै हेर्दैनन्, पढ्दैनन् । एक अध्ययनले के देखाएको छ भने १२ देखि १७ प्रतिशतले मात्र सीएनएन हेर्छन् । उनीहरू रिपब्लिकन विरोधी भनेर चिनिएका मिडियालाई विश्वास नै गर्दैनन् । स्मरणीय रहोस्, अमेरिकाका धेरैजसो लिगेसी मिडिया रिपब्लिकन पार्टी बिरोधी छन्, डेमोक्रेटिक पार्टीलाई समर्थन गर्छन् ।

शम्भुजी,
मलाई लागेको कुरा व्यक्तिगत रूपमा लेखेको हुँ । मैले यो नितान्त व्यक्तिगत रुपमा मनको कुरा लेखेर पठाएको हुँ, त्यसमा तपाईंको सहमति, विमति स्वागतयोग्य छ । बेलाबेला मनको कुरा लेख्ने अनुमति दिनुहोला । दृष्टि दृष्टिजस्तो होस् ।

दृष्टिको पुरानो शुभचिन्तक
नोटः कृपया यो लेख होइन, मनमा लागेको कुरा मात्र हो । मेरो नाम नछाप्नुहोला ।

प्रतिक्रिया दिनुहोस्