एजेन्सी । इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहान ५ बज्नुअघि पूर्वी नुसा तेंगारा प्रान्तको फ्लोरेस क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।

भूकम्पको केन्द्र नाजेकेओबाट करिब ३० किलोमिटर टाढा र जमिनको सतहबाट १५ किलोमिटर गहिराइमा रहेको अधिकारीहरूले बताएका छन्।
भूकम्पमा परी अहिलेसम्म एक जनाको मात्रै मृत्यु भएको विवरण प्राप्त भएको बिबिसीले जनाएको छ।भूकम्पपछि तटीय क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ।
त्यहाँका स्थानीयहरुलाई बासिन्दालाई सुरक्षित स्थानतर्फ जान अधिकारीहरूले आदेश दिएका छन्।
इन्डोनेसियाको संयुक्त खोज तथा उद्धार टोली (सार) का अनुसार भूकम्पका कारण एउटा भवन भत्किँदा ५४ वर्षीया महिलाको मृत्यु भएको हो।
माउमेरे सार कार्यालयका प्रमुख फथुर रहमानले दुई जना अन्य व्यक्ति घाइते भएको पुष्टि गरेका छन्। राष्ट्रिय विपद् व्यवस्थापन निकायका कार्यवाहक प्रमुख बर्टोन पन्जाइतानले प्राप्त सूचनाको पुष्टि भइरहेको र क्षतिको पूर्ण विवरण संकलनपछि आधिकारिक रूपमा सार्वजनिक गरिने बताएका छन्।
इन्डोनेसियाको मौसम, जलवायु तथा भूभौतिकी निकायका भूकम्प तथा सुनामीसम्बन्धी अधिकारीहरूले भूकम्पमा सुनामीको सम्भावना रहेको भन्दै पूर्वी नुसा तेंगारा, दक्षिण सुलावेसी र पश्चिम नुसा तेंगारा प्रान्तमा सतर्कता अपनाउन तथा तटीय क्षेत्रबाट मानिसहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।
पछि सुनामीसम्बन्धी चेतावनी हटाइएको भए पनि अधिकारीहरूले तटीय क्षेत्रबाट टाढै रहन आग्रह गरेका छन्। राष्ट्रिय विपद् व्यवस्थापन निकाय (बिएनबिपी) ले भूकम्पपछि आउन सक्ने परकम्प तथा अन्य जोखिमबाट थप क्षति हुन नदिन मानिसहरूलाई सावधानी अपनाउन भनेको छ।
निकायले विशेषगरी चिरा परेका वा संरचनागत क्षति पुगेका भवनमा प्रवेश नगर्न आग्रह गरेको छ।बिएनपिबीले क्षतिको तीव्र मूल्यांकन भइरहेको र मृत्यु तथा घाइतेको संख्या तथा भौतिक क्षतिको विवरण प्रमाणित भएपछि सार्वजनिक गरिने जनाएको छ।
खोज तथा उद्धार टोलीहरू भूकम्पबाट प्रभावित विभिन्न क्षेत्रमा परिचालन गरिएको छ।भूकम्पपछि स्थानीय बासिन्दामा ठूलो त्रास फैलिएको थियो।
पूर्वी नुसा तेंगाराको सिका जिल्लास्थित तालिबुरा गाउँका अर्नोल्ड वेलियान्तोले बिबिसीलाई आफू सुतिरहेको अवस्थामा अत्यन्तै शक्तिशाली कम्पन महसुस गरेको बताए।
उनका अनुसार कम्पनपछि उनी तत्काल बच्चाको कोठामा पुगेका थिए। घरबाहिर निस्किँदा समुद्रनजिकै रहेको बस्तीका मानिसहरू घर छाडेर डाँडातर्फ भागिरहेका थिए।
परकम्पको डरका कारण धेरै स्थानीय बासिन्दा घरभित्र फर्किन सकेका छैनन्। खोज तथा उद्धार टोलीले प्रभावित क्षेत्रमा क्षति तथा मानवीय अवस्थाको विवरण संकलन गरिरहेको बिबिसीले जनाएको छ।













