काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ जडीबुटी बस्ने तारा तामाङले एलपिजी ग्यासको अभाव झेल्दै आएका थिइन् । उनले आफ्नो घरनजिकैको ग्यास बिक्रेताकहाँ पटकपटक नाम टिपाउन जाँदा पनि सिलिण्डर पाएकी थिइनन् ।

तर, आज नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा विभिन्न कम्पनीले बबरमहलस्थित पुरानो जिप्रका परिसरमा ग्यास वितरण गरेको थाहा पाएपछि यहाँ पुगेकी उनले ग्यास पाउँदा राहतको महसुस गरेको बताइन् । “ग्यासका लागि धेरै भतारिँदै हिँडियो। जडीबुटी आसपासका ग्यास बिक्रेताले नाम टिप्नसमेत मान्दैनथे,” उनले भनिनन्, “कम्तीमा यहाँ एक थान भरि सिलिन्डर पाउँदा पनि ठूलो राहतको महसुस भइरहेको छ ।”
उनी मात्रै होइन, आज बबरमहलमा केही समय लाइन बसेपछि ग्यास प्राप्त गरेका अनामनगरका रोजन मल्ल पनि खुसी देखिन्थे । “सरकारले एकै ठाउँमा विभिन्न कम्पनीका ग्यास बिक्रीको व्यवस्था मिलाएपछि मजस्ता विद्यार्थीलाई धेरै सहज भएको छ,” उनले भने, “अरू दिन कलेजमा अध्ययन गर्न जानुपर्ने हुन्थ्यो । आज बिदाका दिन ग्यास वितरण हुँदा धेरै सहज भएको छ ।”
काठमाडौं रातोपुलबाट बबरमहल ग्यास लिन आएकी विनिता त्रिपाठीले एक सातादेखि अभाव झेले पनि अहिले भरि सिलिन्डर प्राप्त गरेपछि केही समयका लागि राहत महसुस भएको बताइन् । “ग्यासका लागि धेरै ठाउँमा भौतारिनुपरेको थियो । एकै ठाउँमा धेरै कम्पनीका सिलिन्डर पाउँदा खुसी भएका छौँ,” उनले भनिनन्, “सरकारले अब आ-आफ्नै नजिकको बिक्रेताबाट ग्यास उपलब्ध गराउने वातावरण मिलाइदिए झनै सहज हुने थियो ।”
पुरानो जिल्ला प्रशासन कार्यालयको परिसर बबरमहलबाट आज नेपाल, एचपी, एभरेस्टरसुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ग्यास वितरण भइरहेका छन् । नेपाल आयल निगमका उपप्रबन्धक रविलाल घिमिरेले बबरमहलस्थित पुरानो जिप्रका परिसरमा ग्यास लिनका लागि सर्वसाधारणको घुइँचो लागेको बताए ।
“हामीले आज बिहान १०ः०० बजेपछि नियमित रूपले विभिन्न कम्पनीका ग्यास वितरण गरिरहेका छौँ,” निगमका उपप्रबन्धक घिमिरेले भने, “भरि सिलिन्डर लिन आउने सर्वसाधारणको घुइँचो लागेको छ । सुरक्षाकर्मीसँग समन्वय गरेर ग्यास वितरणलाई सहजीकरण गर्दै आइरहेका छौँ ।”
नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र साहले आज काठमाडौं उपत्यकाका पाँच स्थानबाट ग्यास वितरण भइरहेको जानकारी दिए । “हामीले पाँच ठाउँबाट सर्वसाधारणलाई सहज ढङ्गबाट ग्यास उपलब्ध गराउने प्रयास गरिरहेका छौँ,” उनले भने, “तोकिएको स्थानमा आउने सर्वसाधारणलाई सकभर रित्तो हात नफर्काउने गरी भरि सिलिन्डर उपलब्ध गराउन ग्यास उद्योगीहरूसँग समन्वय भइरहेको छ ।”
नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयले आज टेकुको निगम परिसरबाट नेपाल, एचपी, एभरेस्टरसुगम, श्रीराम, सगर, सिद्धार्थ, हिमाल कम्पनीका ग्यास बिक्री९वितरण गरिरहेको छ । त्यसैगरी यातायात कार्यालय परिसर चाबहिलबाट नेपाल र एचपीस कीर्तिपुर राधास्वामी परिसरबाट नेपाल, एचपी, एभरेस्टरसुगम, श्रीमाया, श्रीकृष्ण, साइबाबा र ओम तथा बसुन्धरा राधास्वामी परिसरबाट नेपाल, एचपी, एभरेस्टरसुगम, भानु र ओम कम्पनीका ग्यास वितरण भइरहेको निगमले जनाएको छ ।












