Logo
Logo

काठमाडौँस्थित भारतीय राजदूतावासमा मनाइयो ८०औँ स्वतन्त्रता दिवस


378
Shares

काठमाडौं । काठमाडौँस्थित भारतीय राजदूतावासमा नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरूको सहभागितामा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइएको छ।

‘वन्दे मातरम्’ गायनसँगै सुरु भएको कार्यक्रममा नेपालका लागि भारतीय राजदूतले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका थिए । त्यसपछि राष्ट्रिय गान गाइएको थियो भने भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा गरेको सम्बोधन प्रसारण गरिएको थियो।

सो अवसरमा राजदूतले भारतीय सशस्त्र बलका दिवंगत ११ जना कर्मचारीका श्रीमती तथा निकटतम नातेदारलाई सम्मान गर्दै कुल रु ८ करोड २० लाख बराबरको आर्मी ग्रुप इन्स्योरेन्स फण्डको चेक हस्तान्तरण गर्नुभयो।

साथै, दूतावासद्वारा आयोजित ‘विकसित भारत’ चित्रकला, दौड, अन्तर–विद्यालय हाजिरीजवाफ र ‘भारत को जानिए’ हाजिरीजवाफ प्रतियोगिताका विजेताहरूलाई पनि सोही समारोहमा पुरस्कृत गरिएको थियो ।

शैक्षिक स्रोतहरूमा पहुँच बढाउने उद्देश्यले दूतावासले नेपालका सातै प्रदेशमा रहेका २२ वटा शैक्षिक संस्था तथा पुस्तकालयहरूलाई पुस्तक अनुदान दिने घोषणासमेत गरेको छ।

कार्यक्रममा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका शिक्षक तथा विद्यार्थीहरूले देशभक्तिपूर्ण गीत र जीवन्त साँस्कृतिक प्रस्तुति दिएका थिए। समारोहमा भारतीय समुदायका सदस्य, भारतका मित्रहरू, दूतावासका अधिकारी तथा तिनका परिवारको उत्साहजनक उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्