Logo
Logo

युवासँग पूर्वराष्ट्रपति भण्डारीको आग्रह- तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउनुस्


189
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवालाई आग्रह गरेकी छन् ।

मदन भण्डारी आइडोलोजी स्टुडेन्ट फोरमले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले अध्ययन, संवाद र बहसबाट आफ्नो राजनीतिक धारणा निर्माण गर्न युवासँग आग्रह गरेकी हुन् ।

‘कुनैपनि राजनीतिक विचार समय समयसँगै विकसित हुँदै जानुपर्छ । त्यसैले तपाईँहरू आफ्नो जिज्ञासा राख्नुस्, अध्ययन गर्नुस्, आफ्ना विचार व्यक्त गर्नुस्,’ पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘अरूका विचार पनि सुन्नुस् र संवाद तथा बहसबाट आफ्नो धारणा निर्माण गर्नुहोस् ।’

लोकतन्त्रको शक्ति आफूले भनेको कुरा मात्र स्थापित गर्नुमा नभई फरक विचारलाई सम्मानपूर्वक सुन्ने र तर्क तथा तथ्यका आधारमा आफ्नो दृष्टिकोण निर्माण गर्ने संस्कारमा हुने उनले बताइन् ।

‘आजको पुस्ता सामाजिक सञ्जाल, सूचना प्रविधि र विश्वव्यापी सम्पर्कका कारण विगतका पुस्ताभन्दा धेरै सूचना सम्पन्न छ । तर, सूचना धेरै हुनु र सही ज्ञान हुनु एउटै कुरा होइन,’ उनले भनिन् ।

त्यसैले सूचनालाई तथ्यसँग, भावनालाई विवेकसँग र आलोचनालाई रचनात्मकतासँग जोड्नसक्ने क्षमता आजको पुस्ताका लागि अत्यन्तै महत्वपूर्ण रहेको पूर्वराष्ट्रपति भण्डारीको भनाइ छ ।

‘राजनीतिमा युवाहरूको सहभागिता केवल नारामा सीमित हुनु हुँदैन । राजनीति निर्वाचनका बेला मत माग्ने वा दिने विषय मात्र होइन,’ उनले भनिन्, ‘समाजलाई बुझ्ने, जनताको आवाज सुन्ने, नीति निर्माणमा आफ्नो भूमिका खोज्ने र देशको विकास तथा परिवर्तनमा रचनात्मक योगदान गर्ने निरन्तर प्रक्रिया हो ।’

प्रतिक्रिया दिनुहोस्