Logo
Logo

झन् संकटमा धकेलिँदै प्रभु बैंक


378
Shares

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा कुशल र अनुभवी बैंकरको छवि बनाएका सुमन शर्माले प्रभु बैंकको कमाण्ड सम्हालेको ६ महिना पूरा भएको छ । निवर्तमान सीईओ अशोक शेरचन बैंकिङ कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानमा तानिएपछि रिक्त रहेको पदमा गत माघमा शर्माको नियुक्ति भएको थियो ।

माछापुच्छ्र्रे र तत्कालीन सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृतका रूपमा सफल कार्यकाल बिताइसकेका शर्माबाट लगानीकर्ता र सञ्चालक समितिले ठूलो आशा राखेका थिए । तर, उनले नेतृत्व सम्हालेको छोटो अवधिमा सार्वजनिक भएको आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत वित्तीय विवरणले बैंकको अवस्था सुधारिनुको साटो झन् भयावह बनेको देखाएको छ ।

बैंकले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार प्रभु बैंक २४ करोड १२ लाख ४३ हजार रुपैयाँ खुद घाटामा गएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकले ८७ करोड २३ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

अनुभवी नेतृत्व आउँदा बैंकको पुरानो समस्या समाधान हुने र नाफाको ग्राफ उकालो लाग्ने अपेक्षा गरिए पनि परिणाम ठ्याक्कै उल्टो देखिएको छ । शर्माको आगमनपछि बैंक नाफाबाट सिधै घाटाको सुरुङमा पस्नुले उनको कार्यक्षमता र जादुमयी नेतृत्वमाथि प्रश्न खडा गरिदिएको छ ।

प्रभु बैंकको वित्तीय स्वास्थ्य बिग्रनुको सबैभन्दा ठूलो र डरलाग्दो कारण निष्क्रिय कर्जा (एनपीएल) मा भएको अस्वभाविक वृद्धि हो । अघिल्लो वर्ष ७.०१ प्रतिशत रहेको निष्क्रिय कर्जा अहिले दोब्बरभन्दा बढीले बढेर १५.५५ प्रतिशत पुगेको छ । बैंकिङ क्षेत्रमा १५ प्रतिशतभन्दा माथिको खराब कर्जा हुनुलाई अत्यन्तै जोखिमपूर्ण मानिन्छ ।

निष्क्रिय कर्जा यसरी अनियन्त्रित रुपमा बढ्नुले बैंकको कर्जा असुली प्रक्रिया र गुणस्तरमा ठूलो प्वाल परेको प्रष्ट पार्छ । यही खराब कर्जाका कारण बैंकले सम्भावित जोखिम व्यवस्थापन (प्रोभिजन) का लागि मात्रै ४ अर्ब ९४ करोड रुपैयाँ छुट्याउनु परेको छ, जसले बैंकको नाफालाई ऋणात्मक बनाउन मुख्य भूमिका खेलेको छ ।

नयाँ सीईओको आगमनपछि बैंकको सञ्चित नोक्सानीको खाडल पनि अझ फराकिलो भएको छ । अघिल्लो वर्ष २ अर्ब ५६ करोड रुपैयाँ रहेको सञ्चित नोक्सानी अहिले बढेर ६ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।

यसले बैंकको भविष्यको लाभांश वितरण क्षमतालाई मात्र होइन, समग्र पूँजीकोषलाई नै संकटमा पारेको छ । बैंक घाटामा गएसँगै लगानीकर्ताले पाउने प्रतिसेयर आम्दानी (ईपीएस) पनि १.०२ रुपैयाँ ऋणात्मक बनेको छ, जबकि अघिल्लो वर्ष यो ३.७१ रुपैयाँ सकारात्मक थियो ।

सेयर बजारका लगानीकर्ताका लागि यो विवरण निराशाजनक मात्र होइन, चिन्ताको विषय समेत बनेको छ । बैंकको पूँजी कोष अनुपात पनि १२.५० प्रतिशतबाट घटेर ११.८३ प्रतिशतमा झरेको छ भने प्राथमिक पूँजी अनुपात ८.८३ प्रतिशतमा खुम्चिएको छ । यसले बैंकलाई थप कर्जा लगानी गर्न र व्यवसाय विस्तार गर्न ठूलो अवरोध सिर्जना गरेको छ ।

अर्कोतर्फ, बैंकको सीडी रेसियो ६७.८६ प्रतिशतमा झर्नुले बैंकसँग लगानीका लागि पर्याप्त तरलता भए पनि बजारमा विश्वास आर्जन गर्न नसक्दा वा जोखिम मोल्न नसक्दा लगानी हुन नसकेको संकेत गर्छ । कर्जा प्रवाह अघिल्लो वर्षको तुलनामा घटेर २ खर्ब १४ अर्बमा सीमित हुनुले बैंक रक्षात्मक अवस्थामा पुगेको पुष्टि हुन्छ ।

प्रभु बैंकको वित्तीय स्वास्थ्य बिग्रनुको सबैभन्दा ठूलो र डरलाग्दो कारण निष्क्रिय कर्जा (एनपीएल) मा भएको अस्वभाविक वृद्धि हो । अघिल्लो वर्ष ७.०१ प्रतिशत रहेको निष्क्रिय कर्जा अहिले दोब्बरभन्दा बढीले बढेर १५.५५ प्रतिशत पुगेको छ । बैंकिङ क्षेत्रमा १५ प्रतिशतभन्दा माथिको खराब कर्जा हुनुलाई अत्यन्तै जोखिमपूर्ण मानिन्छ ।

शर्मा जत्तिको अनुभवी बैंकरले नेतृत्व सम्हालेको ६ महिनामा बैंकको वित्तीय अवस्थामा सुधारको कुनै लक्षण नदेखिनुले बैंकिङ वृत्तमा आश्चर्य पैदा गरेको छ । हुन त बैंकभित्र रहेका पुराना खराब कर्जा र पूर्व सीईओमाथिको कानुनी झमेलाले सिर्जना गरेको विरासतका कारण शर्मालाई काम गर्न सहज थिएन ।

तर, ६ महिनाको समय बैंकको सुधारका लागि ठोस आधार तयार पार्न पर्याप्त मानिन्छ । यो अवधिमा खराब कर्जा असुलीमा आक्रामक हुनुपर्नेमा उल्टै एनपीएल १५ प्रतिशत नाघ्नु र बैंक ठूलो घाटामा जानुले शर्माको जादु प्रभु बैंकमा फिक्का सावित भएको छ । आगामी दिनमा यो खराब अवस्थाबाट बैंकलाई बाहिर निकाल्नु नै उनका लागि मुख्य चुनौती रहनेछ ।

बैंकिङ क्षेत्रमा क्राइसिस म्यानेजरको छवि बनाएका शर्मा अहिले बैंकको आन्तरिक सरसफाइ र संस्थागत सुशासन कायम गर्ने नाममा पुराना फाइलहरू पल्टाउनमै बढी अलमलिएको बैंकिङ विज्ञहरूको विश्लेषण छ । निवर्तमान सीईओमाथिको सीआईबी अनुसन्धान र त्यसले सिर्जना गरेको मनोवैज्ञानिक त्रासका कारण कर्मचारी संयन्त्रलाई चलायमान बनाउनुको साटो उनी केवल तथ्याङ्कमा सुधार ल्याउने र पुराना ऋणको वर्गीकरणमै रुमल्लिएको देखिन्छ ।

व्यवसाय विस्तार र निक्षेप परिचालनको साटो खराब कर्जाको ग्राफ अस्वभाविक रुपमा बढ्दा पनि उनले प्रभावकारी रिकभरी रणनीति ल्याउन नसक्नुले उनी बैंकको आन्तरिक प्राविधिक झमेला र कानुनी उल्झन मिलाउनमै बढी केन्द्रित भएको प्रष्ट हुन्छ । जसका कारण बैंकको मुख्य उद्देश्य व्यावसायिक वृद्धि गर्नेभन्दा पनि केवल पुरानो घाटा र जोखिम व्यवस्थापन (प्रोभिजनिङ) को चक्रमा मात्रै सीमित हुन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्