Logo
Logo

दुर्व्यवहारविरुद्ध मैदानमा उत्रने बेला


0
Shares


राष्ट्रको गौरव कहिलेकाहीँ रंगशालामा देखिन्छ, तर त्यसको मूल्य रंगशालाबाहिरको अँध्यारोमा तिरिएको हुन्छ । हामीले स्कोरबोर्डमा अंक देख्छौँ, पदकमा चमक देख्छौँ, राष्ट्रिय झण्डामा गर्व गर्छौँ । तर त्यो झण्डा उचाल्ने हातहरू कति सुरक्षित थिए, त्यो पसिनासँगै कति आँसु मिसिएको थियो, र जितको पछाडि कति पीडा लुकाइएको थियो– त्यसको हिसाब कुनै स्कोरबोर्डले राख्दैन ।

एउटी खेलाडी मैदानमा उत्रिँदा हामी उसलाई केवल खेलाडीका रूपमा देख्छौँ । तर त्यो मैदानमा पुग्नुअघि उसले एउटा लामो यात्रा पार गरेकी हुन्छन् । परिवारको आशा, आफ्ना सपना, समाजका प्रश्न, आर्थिक अभाव, शारीरिक पीडा, असफलताको डर र हजारौँ घण्टाको अभ्यास । उसले आफूलाई देशको नामसँग जोडेर मैदानमा उभ्याएकी हुन्छन् ।

तर कल्पना गरौँ, त्यही यात्राको कुनै मोडमा उसले आफूलाई सुरक्षित ठानेको हातबाटै असुरक्षा भोग्नुप¥यो भने ? जसलाई गुरु मानेकी थिई, त्यही प्रशिक्षकबाट अपमानित हुनुप¥यो भने ? जसले आफ्नो भविष्य सुरक्षित गरिदेला भनेर विश्वास गरेकी थिई, त्यही खेल अधिकारी वा व्यवस्थापकबाट अनुचित व्यवहार सहनुप¥यो भने ? र, त्यसविरुद्ध बोल्दा आफ्नो करियर नै समाप्त हुने डरले उसले मुख बन्द गर्नुप¥यो भने ? त्यो पीडा खेलाडीको निजी पीडा मात्र रहँदैन। त्यो हाम्रो खेल प्रणालीको चरित्रमाथि लागेको प्रश्न हुन्छ ।

नेसनल एसोसिएसन अफ स्पोट्र्स हेल्थ एन्ड फिटनेस सेन्टर (एनएएसएचएफ) नेपालले सार्वजनिक गरेको अध्ययनले यही प्रश्नलाई तथ्यांकसहित हाम्रो अगाडि ल्याइदिएको छ । १५ वटा खेलका २७६ महिला खेलाडीमाथि गरिएको अध्ययनअनुसार ३०.८ प्रतिशत महिला खेलाडी दुव्र्यवहारको सिकार भएका छन् । करिब एक तिहाइ खेलाडीले प्रतियोगिता छनोटको संवेदनशील चरणमा कुनै न कुनै प्रकारको दुव्र्यवहार भोगेको बताएका छन् । अझ गम्भीर कुरा २६.१ प्रतिशत पीडितले डर, लाञ्छना वा त्यसपछि आउन सक्ने परिणामको त्रासका कारण कसैलाई पनि केही बताएनन् ।

यसको अर्थ के हो ? यसको अर्थ, हामीले सुनेको पीडा सम्पूर्ण पीडा होइन । मौन बसाइएका आवाजहरू अझ धेरै हुन सक्छन् । किनकि दुव्र्यवहारको सबैभन्दा शक्तिशाली हतियार सधैं धम्की हुँदैन; कहिलेकाहीँ त्यो भविष्यको डर हुन्छ– ‘बोलिस् भने तेरो करियर सकिन्छ ।’ यही एउटा वाक्यले एउटा खेलाडीलाई वर्षौंसम्म मौन राख्न सक्छ ।

खेलकुदमा छनोट एउटा अवसर मात्र होइन, धेरैका लागि भविष्यको ढोका हो । राष्ट्रिय टोलीमा पर्नु, अन्तर्राष्ट्रिय प्रतियोगितामा जानु, खेलवृत्ति पाउनु, करियर बनाउनु सबै सीमित अवसर हुन् । ती अवसरको चाबी जब केही व्यक्तिको हातमा हुन्छ, तब उनीहरूको व्यवहारविरुद्ध बोल्नु पीडितका लागि सामान्य उजुरी हुँदैन, त्यो आफ्नै भविष्यविरुद्ध जोखिम उठाउनुजस्तो हुन्छ । त्यसैले महिला खेलाडीको मौनतालाई सहमति ठान्नु सबैभन्दा ठूलो अन्याय हो ।

हामीकहाँ अनुशासनको एउटा गलत परिभाषा छ– माथिबाट आएको कुरा सहनु, प्रश्न नगर्नु, गुनासो नगर्नु र आदेश मान्नुलाई अनुशासन ठानिन्छ । खेलकुदमा यो मानसिकता अझ खतरनाक हुन्छ । कोचले भनेपछि सहनुपर्छ । प्रशिक्षकले कराउनु त सामान्य हो । ठूलो खेलाडी बन्न केही कुरा सहनैपर्छ । ठूलाबडासँग पंगा लिएर कसरी करियर बनाउने ?

यस्ता वाक्यले खेलाडीलाई अनुशासित बनाउँदैनन्, उनीहरूलाई मौन बनाउँछन् । अध्ययनमा ६५.२ प्रतिशत पीडितले गम्भीर मानसिक तनाव र ४६ प्रतिशतभन्दा बढीले नैराश्य अनुभव गरेको तथ्यले यही कुरा प्रमाणित गर्छ । केही खेलाडीले खेल नै छाड्ने सोच बनाएको बताएका छन् । एउटा खेलाडीले खेल छाड्दा हामी प्रायः कारण खोज्दैनौँ । ‘फर्म बिग्रियो होला’, ‘अवसर पाएन होला’, ‘व्यक्तिगत कारण होला’ भनेर अनुमान गर्छौँ ।

तर कहिलेकाहीँ खेल छाड्नु हार होइन । आफूलाई बचाउने अन्तिम प्रयास पनि हुन सक्छ ।
समस्या व्यक्तिमा मात्र छैन, संरचनामा छ । तर यही कारणले खराब व्यवहार गर्नेहरूलाई अझ स्पष्ट रूपमा पहिचान गर्नुपर्छ । किनकि समस्या ‘केही खराब मान्छे’ मा मात्र सीमित गरेर टारियो भने संरचनागत कमजोरी जस्ताको तस्तै रहन्छ।

खेलाडीको छनोट, अवसर, खेलवृत्ति र भविष्य केही व्यक्तिको निर्णयमा निर्भर रहने व्यवस्था आफैंमा जोखिमपूर्ण छ । जहाँ निर्णय अपारदर्शी हुन्छ, त्यहाँ शक्ति दुरुपयोगको सम्भावना बढ्छ । जहाँ उजुरी गर्ने स्वतन्त्र ठाउँ हुँदैन, त्यहाँ पीडितको आवाज दबिन्छ । जहाँ उजुरी गरेपछि प्रतिशोधको डर हुन्छ, त्यहाँ अपराधीलाई संरक्षण मिल्छ । र जहाँ ‘संस्थाको बदनाम हुन्छ’ भनेर घटना लुकाइन्छ, त्यहाँ संस्थाको बदनामी रोकिँदैन, उल्टै अपराध संस्थाभित्रै जरा गाड्छ ।

त्यसैले अब प्रश्न ‘यस्तो घटना भयो कि भएन?’ मा मात्र सीमित हुनु हुँदैन । प्रश्न हुनुपर्छ– यस्तो घटना भयो भने पीडित कहाँ जान्छे ? उसको कुरा कसले सुन्छ ? उसको गोपनीयता कसले जोगाउँछ ? उजुरीपछि उसको करियर कसले सुरक्षित गर्छ ? र, दोषी शक्तिशाली व्यक्ति भए पनि उसमाथि कारबाही गर्ने स्वतन्त्रता संस्थासँग छ कि छैन ? यिनै प्रश्नले हाम्रो खेल प्रणाली कस्तो छ भन्ने निर्धारण गर्छन् ।

हामीलाई पदका जितेको मन पर्छ । स्वर्ण जितेपछि विमानस्थलमा स्वागत गर्न मन पर्छ । सामाजिक सञ्जालमा फोटो राख्न मन पर्छ । नेताहरूलाई बधाई दिन मन पर्छ । तर पदक जित्नुअघि खेलाडीले कस्तो प्रशिक्षण पाई ? उसलाई कस्तो व्यवहार गरियो ? उसको मानसिक स्वास्थ्य कस्तो छ ? उसको आवाज सुन्ने कोही छ कि छैन ? भन्ने प्रश्नमा कसैको ध्यान नै जाँदैन ।

हामी परिणाम मन पराउँछौँ, प्रक्रिया होइन । तर खेलाडीको जीवनमा प्रक्रिया नै सबैभन्दा लामो हुन्छ । एउटा स्वर्ण पदक केही मिनेटको प्रदर्शनबाट आउँछ । त्यसको पछाडि वर्षौंको अभ्यास हुन्छ । र, त्यो अभ्यासको वातावरण असुरक्षित भयो भने प्रतिभा विस्तारै मर्छ ।

देशले पदक गुमाउनु ठूलो कुरा होइन । तर, डरका कारण एउटा प्रतिभा खेलबाटै बाहिरिनु ठूलो क्षति हो । अब ‘सेफ स्पोट्र्स’ नीति कागजबाट मैदानमा आउनुपर्छ । विश्वका धेरै देशले खेलकुदलाई सुरक्षित बनाउने उद्देश्यले स्पष्ट आचारसंहिता, स्वतन्त्र अनुसन्धान संयन्त्र, उजुरी प्रणाली र खेलाडी संरक्षणका नीति बनाएका छन् । नेपालले पनि अब त्यही दिशामा अघि बढ्नुपर्छ ।

राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले यसलाई प्राथमिकतामा राख्नुपर्छ । प्रत्येक खेल संघमा स्वतन्त्र उजुरी संयन्त्र हुनुपर्छ । उजुरी गर्ने खेलाडीको पहिचान गोप्य राखिनुपर्छ । उजुरीकै कारण टोलीबाट हटाउने, खेलवृत्ति रोक्ने वा अवसरबाट वञ्चित गर्ने जस्ता प्रतिशोधपूर्ण व्यवहारलाई कडा रूपमा निषेध गर्नुपर्छ । पीडितलाई मनोसामाजिक परामर्श, कानुनी सहायता र आवश्यक स्वास्थ्य सेवा उपलब्ध हुनुपर्छ ।

हाम्रो खेलकुदमा प्रशिक्षकलाई प्रश्न गर्न कठिन हुन्छ । उनीहरूलाई ‘गुरु’ भनिन्छ । त्यसैले कतिपय अवस्थामा उनीहरूको व्यवहार आलोचनाभन्दा माथि राखिन्छ । तर, गुरु हुनु जवाफदेहिताबाट मुक्त हुनु होइन । प्रशिक्षकले खेलाडीको प्रदर्शनमाथि प्रश्न गर्न सक्छ । अनुशासनमा राख्न सक्छ । गल्ती देखाउन सक्छ । कडा प्रशिक्षण दिन सक्छ ।

तर, उसले खेलाडीको आत्मसम्मानमाथि आक्रमण गर्न पाउँदैन । उसलाई यौनजन्य संकेत गर्न पाउँदैन । अवसरको प्रलोभन दिन पाउँदैन । करियर बिगार्ने धम्की दिन पाउँदैन । यी कुरा प्रशिक्षण हुँदै होइन, शक्ति दुरुपयोग हुन् । पीडितलाई चुप गराएर खेलकुद महान् हुँदैन ।

हाम्रो समाजले पीडितलाई प्रश्न गर्नुभन्दा पहिले उसको चरित्र जाँच्ने गर्छ– किन त्यहाँ गएकी ? ‘किन केही भनिनौ? पहिले नै किन उजुरी गरिनौ? ‘कपडा कस्तो थियो? यस्ता प्रश्नहरू अपराधीको पक्षमा उभिएका प्रश्न हुन् । सही प्रश्न हो– उसले यस्तो व्यवहार किन सहनुप¥यो ?

हामीले एउटा कुरा कहिल्यै बिर्सनु हुँदैन– खेलाडी राष्ट्रको गौरव हुनुअघि एउटा नागरिक हो । उसको सपना छ । उसको डर छ । उसको आत्मसम्मान छ । उसको सीमा छ । उसको शरीरमाथि उसको अधिकार छ । र, उसलाई सुरक्षित वातावरणमा खेल्ने अधिकार छ । राष्ट्रका लागि पदक जित्ने जिम्मेवारी उसमाथि थोपर्नुअघि राष्ट्रले पनि उसको सुरक्षा गर्ने जिम्मेवारी लिनुपर्छ । किनकि खेलाडीको काँधमा राष्ट्रको झण्डा राखेर उसको काँधमाथि नै अन्यायको भार थप्न मिल्दैन ।

सबैलाई पदक चाहिन्छ, तर पीडाको मूल्यमा होइन । जित चाहिन्छ, तर आत्मसम्मान गुमाएर होइन । राष्ट्रिय गौरव चाहिन्छ, तर खेलाडीको आँसुमा होइन । हामीले यस्तो खेलकुद बनाउनुपर्छ, जहाँ एउटा किशोरी खेलाडीले प्रशिक्षण केन्द्रमा प्रवेश गर्दा आफ्नो खेलबारे मात्र सोचोस्, आफ्नो सुरक्षाबारे होइन । जहाँ प्रशिक्षक देख्दा डर होइन, भरोसा पैदा होस् । जहाँ उजुरी गर्नु करियरको अन्त्य होइन, न्यायको सुरुवात होस् । जहाँ महिला खेलाडीको आवाजलाई ‘समस्या’ होइन, सुधारको संकेत मानियोस् ।

प्रतिक्रिया दिनुहोस्