काठमाडौं । राष्ट्रिय सभाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

मङ्गलवार बसेको सभाको बैठकले उक्त विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रश्तुत गरेकी थिइन् ।
प्रस्ताव प्रश्तुत गर्दै मन्त्री गौतमले प्रतिनिधि सभाको सन्देशसहित प्राप्त विधेयकलाई सम्बन्धित समितिमा पठाउन सभाको अनुमति मागेकी थिइन् । तत्पश्चात, राष्ट्रिय सभाका अध्यक्षले उक्त प्रश्तावलाई निर्णयार्थ प्रश्तुत गरेकोमा बैठकले सर्वसम्मतिले स्वीकृत गरेको घोषणा गरियो ।
राष्ट्रिय सभाको अर्को बैठक आगामी २०८३ साल भदौ १६ गते मङ्गलवार अपराह्न १ः१५ बजे बस्ने गरी स्थगित भएको छ ।














