काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट ठुलो बाढी आएको खबरप्रति नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गम्भीर चिन्ता व्यक्त गर्दै उच्च सतर्कता अपनाउन अपिल गरेका छन् ।

प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गरेका छन् ।
‘नदी तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले सबै नागरिकलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न हार्दिक अपील गर्दछु,’ उनले भनेका छन् ।
विपद्को यो समयमा नागरिकको जीवनरक्षा पहिलो दायित्व भएको उल्लेख गर्दै प्रचण्डले सरकार, सुरक्षा निकाय, राजनीतिक दल र आम नागरिकलाई एकजुट हुन आह्वान गरेका छन् । उनले भने, ‘संघ, प्रदेश र स्थानीय सरकार, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज र आम नागरिक सबै एकजुट भई उद्धार, राहत तथा मानवीय सहयोगलाई प्रभावकारी बनाऔँ ।’
यस्तै, प्रचण्डले आफ्नो पार्टी पङ्क्तिलाई तत्काल उद्धार र राहत कार्यमा खटिन निर्देशन दिएका छन्। उनले भनेका छन्, ‘नेपाली कम्युनिस्ट पार्टीका सम्पूर्ण पार्टी पङ्क्तिलाई प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र मानवीय सेवामा जुट्न तथा स्थानीय प्रशासनसँग समन्वय गर्न निर्देशन गर्दछु ।’














