
काठमाडौं । भोटेकोशी बाढीको इपिसेन्टर बनेको गोसाईंकुण्ड गाउँपालिकाका उपाध्यक्ष र एक जना अध्यक्षपनि सम्पर्कविहीन भएका छन् । गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले गाउँपालिका उपाध्यक्ष प्रतिमा तामाङ र ५ नम्बर वडाका वडाध्यक्ष दावा मिङ्मार तामाङ बिहान बाढीलगत्तै बेपत्ता भएको जानकारी दिए ।
दुवै जनाको फोन सम्पर्कविहीन हुँदै अहिले आएर स्वीच अफ भएको अध्यक्ष नुर्पुले बताए । उपाध्यक्ष तामाङ पनि वडा नम्बर ५ स्याफ्रुबेसीकी हुन् । वडा नम्बर २ रसुवागढी टिमुरे क्षेत्र हो ।
गाउँपालिका अन्तर्गत वडा नम्बर २ र ५ का तटीय क्षेत्रका सयौं बासिन्दा बेपत्ता भएका छन् । बाढीले गाउँपालिका भवन पनि बगाएको र तटीय क्षेत्रका कुनै पनि घर बाँकी नरहेको उनले बताए । आफू केही बोल्न नसक्ने अवस्थामा रहेको र मानवीय तथा भौतिक क्षति यो युगले पूर्ति गर्न नसकिने अकल्पनीय रहेको उनले बताए ।














