
काठमाडौं । रसुवा बाढीबाट विभिन्न जिल्लामा पुगेको ठूलो क्षति र सिर्जित वातावरणीय संकटको दीर्घकालीन समाधानका लागि प्रमुख राजनीतिक दलहरूबीच ‘संसदीय समिति’ गठन गर्ने सहमति भएको छ ।
रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीलगायतका जिल्लामा भएको असीमित मानवीय र भौतिक संरचनाको विनाशप्रति दुःख व्यक्त गर्न बसेको सर्वदलीय बैठकले विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि यस्तो संयन्त्र बनाउने सहमति गरेको हो ।
बैठकपछि जारी संयुक्त वक्तव्यमा उल्लेख भएअनुसार यो संसदीय समितिले विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन र राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधारका लागि काम गर्नेछ । यसले सरकारका कामकारबाहीलाई निरन्तर सल्लाह र सहयोग दिनुका साथै अनुगमनको भूमिका समेत निर्वाह गर्नेछ। दलहरूले विपद् व्यवस्थापनलाई अल्पकालीन राहतमा मात्र सीमित नराखी दिगो समाधान खोज्न र राष्ट्रिय सहमति निर्माण गर्न यो संयन्त्र महत्त्वपूर्ण हुने निष्कर्ष निकालेका छन्।
बैठकले विपद्को समयमा गरिने राहत कार्यलाई पूर्ण रूपमा गैर–राजनीतिकरण गर्ने र दलगत स्वार्थभन्दा माथि उठेर मानवीय स्वयंसेवकका रूपमा खटिने प्रतिबद्धता व्यक्त गरेको छ । आर्थिक संकलनका लागि सरकारको आधिकारिक ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ वा तोकिएको खातामा मात्र रकम जम्मा गर्न आह्वान गर्दै दलहरूले व्यक्तिगत वा दलगत रूपमा आफूखुसी सहयोग संकलन नगर्न आ–आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन्।
साथै, जलवायु परिवर्तनका कारण चीनतर्फ रहेका हिमतालहरू पग्लिने र विष्फोट हुने जोखिम बढेकाले त्यसको अध्ययनका लागि चीन सरकारसँग तत्काल उच्चस्तरीय कूटनीतिक पहल गरी संयुक्त वैज्ञानिक तथा प्राविधिक अध्ययन संयन्त्र गठन गर्न सरकारसँग माग गरिएको छ ।
यस साझा सङ्कल्प र वक्तव्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली काँग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका महासचिव शंकर पोखरेल, श्रम संस्कृती पार्टीका ध्रुव राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका चन्दन सिंहले हस्ताक्षर गरेका छन् ।
दलहरूले विपद्को समयमा कालोबजारी गर्ने वा राहतको दुरुपयोग गर्नेलाई शून्य सहनशीलताको नीति अनुरूप कडा कानुनी कारबाही गर्न र अन्तर्राष्ट्रिय समुदायलाई मानवीय तथा प्राविधिक सहयोगका लागि अपिल समेत गरेका छन्।















