
काठमाडौं । भोटेकोशी बाढीमा परेर ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए जलविद्युत् आयोजनामा रहेका ४६ जना सम्पर्कविहीन भएका छन् ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार अप्पर त्रिशूली ३ ए जलविद्युत् आयोजनाको पावर हाउस र ड्याम क्षेत्रबाट ४६ जना सम्पर्कविहीन रहेका हुन् । नुवाकोटको यो आयोजना प्राधिकरणले नै निर्माण गरेको थियो ।
बाढीका कारण सम्पर्कविहीन हुनेहरू स्थायी, दैनिक ज्यालादारीदेखि सेवा सम्झौतामा आधारित कर्मचारी छन् ।
यो समाचार तयार पार्दासम्म सम्पर्कविहीन हुनेमा जलविद्युत् आयोजनामा सहायक प्रबन्धक विनोदकुमार पाण्डे, इन्जिनियरहरू दिलिप यादव, राजेन्द्र ढकाल र महेन्द्र विक्रम शाही छन् । यस्तै, सहायक इन्जिनियरहरू सन्तोषकुमार ठाकुर, इन्द्र अधिकारी र ओमप्रकाश चौधरी सम्पर्कमा छैनन् ।
सुपरभाइजरहरू खेमराज भट्टराई, विकास यादव, रमेशकुमार यादव, विष्णु भण्डारी, अनिता तामाङ र सौगरथ यादव सम्पर्कविहीन छन् । फोरम्यानका रूपमा जलविद्युत् आयोजनामा कार्यरत हरिबहादुर बोगटी, सन्जय साह, रमिला भण्डारी, रोबन पराजुली, सूर्यबहादुर केसी र फोरम्यान चालक खगेन्द्र मगराती सम्पर्कमा नरहेको प्राधिकरणले जनाएको छ ।
यस्तै, इलेक्ट्रिसियन नारायणप्रसाद अर्याल, जुनियर मिस्त्री अमरकान्त चौधरी, देव गिरी, सुदिपकुमार श्रेष्ठ र जितेन्द्रकुमार गुप्ता सम्पर्कविहीन छन् । परियोजनामा कार्यरत अस्मिता लामा, कबिर महर्जन, तेजबहादुर जुरेल, जीवलाल अधिकारी, तिलबहादुर राना, कृतसिंह विष्ट, निरजबाबु रेग्मी पनि सम्पर्कमा नरहेको बताइएको छ ।
त्यसैगरी, शर्मिला अधिकारी, राजकुमार भट्टराई, कान्छी गुरुङ चौधरी, शान्ति माया तामाङ, रामशरण न्यौपाने, झपट बहादुर घर्ती र अस्मिता लामा पनि सम्पर्कमा छैनन् । सुरक्षा गार्डको रूपमा परियोजनामा गोरखाली योद्धा नामक कम्पनीबाट खटिएका सात जना सम्पर्कविहीन छन् ।















