
काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीमा परेर हालसम्म ५ सय ४७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसो ३ बजेसम्म ५४७ जनाको शव भेटिएको हो ।
रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, गोरखामा ४४, नवलपुरमा १३४, नवलपरासीमा २८, तनहुँमा २९ र सबैभन्दा बढी २२१ शव चितवनमा भेटिएको छ । विपद्मा परी ७३ जना घाइते भएका छन्। जसमध्ये रसुवाका ४३, नुवाकोटका २७ र धादिङका ३ जना छन् ।
बाढीपछि ९ सय ७७ जना अझै सम्पर्कविहीन छन् । हराउनेमा ठूलो सङ्ख्या विदेशी नागरिकको छन् । ५ सय १७ जना विदेशी नागरिक र नेपाल घुम्न आएका विदेशमा बस्ने १ सय २७ जना नेपाली सम्पर्कमा छैनन । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (डीईओसी) बाट प्राप्त विवरणअनुसार रसुवाका १ सय ६१, मकवानपुरका ६६ र नुवाकोटका १ जना हराइरहेका छन् ।
विपद्मा खटिएका सुरक्षाकर्मी र कर्मचारीसमेत बेपत्ता छन् । नेपाली सेनाका ४५, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना सम्पर्कविहीन छन । भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना कर्मचारीको अवस्था अज्ञात छ ।















