
काठमाडौं । सरकारले मुलुकमा आइपरेको प्राकृतिक विपद्पछिको उद्धार, राहत र पुनस्र्थापनाका लागि उपलब्ध सबै आन्तरिक स्रोत र साधनको अधिकतम परिचालन गरिरहेको जानकारी दिएको छ ।
शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले उद्धार कार्यलाई व्यवस्थित बनाउन सरकार लागिपरेको बताएका हुन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) को टोली उद्धार कार्यमा पूर्ण रूपमा परिचालित रहेको जानकारी दिए ।
उनले भने, ‘पहिलो चरणमा उपलब्ध जनशक्ति र स्रोतको प्रयोग गरेर नागरिकको ज्यान जोगाउनु हाम्रो प्राथमिकता हो । स्वयंसेवकहरूको परिचालनलाई पनि थप व्यवस्थित बनाउने प्रक्रिया शुरु गरिएको छ ।’
अन्तर्राष्ट्रिय सहयोगका सन्दर्भमा परराष्ट्र मन्त्रालयमार्फत विभिन्न मुलुकहरूसँग समन्वय भइरहेको र राहत सामग्री ल्याउने विषयमा छलफल जारी रहेको उनले बताए । आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गरिने सरकारको तयारी छ । सरकारले विपद्का समयमा आधिकारिक सूचना मात्र ग्रहण गर्न नागरिकलाई अपिल गरेको छ ।
प्रधानमन्त्री कार्यालयको आधिकारिक वेबपेज र विपद् व्यवस्थापन प्राधिकरणले उपलब्ध गराउने जानकारीलाई मात्र आधार मान्न मन्त्री पोखरेलले आग्रह गरे । राहत संकलनका लागि सरकारले ‘प्रधानमन्त्री दैवी प्रकोप सहायता कोष’ लाई सक्रिय बनाएको छ । देश तथा विदेशमा रहेका इच्छुक व्यक्ति वा संस्थालाई आधिकारिक माध्यम र क्युआर कोड पहिचान गरेर मात्र उक्त कोषमा रकम जम्मा गर्न आग्रह गरिएको छ । मन्त्री पोखरेलकाअनुसार अर्थ मन्त्रालयले राहत कोषको विवरण र संकलित रकमका बारेमा छिट्टै थप स्पष्ट जानकारी सार्वजनिक गर्नेछ ।















