काठमाडौं । बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका र सम्पर्कमा आएका पर्यटकको सङ्ख्या १८७ पुगेको छ । नेपाल पर्यटन बोर्डले पछिल्लो तथ्याङ्क सार्वजनिक गर्दै त्यसबारे जानकारी गराएको हो ।

बोर्डका अनुसार १८४ पर्यटकको उद्धार भएको र ३ जना सम्पर्कमा आएका छन् । अझै ४२० पर्यटक सम्पर्कबाहिर छन् । १० भदौमा आएको बाढीका कारण रसुवागढी नाका हुँदै कैलाश मानसरोवर यात्रामा जाने धेरै पर्यटक सम्पर्कविहीन भएका थिए ।
बोर्डका अनुसार उद्धार गरिएकामा सबैभन्दा धेरै भारतीय ११४ जना छन् । यस्तै, दक्षिण कोरियाली २० जना, चीनका २७ जना, जर्मनी र माल्टाका ४/४ र अमेरिकी, इटालीका ३–३ जना छन् ।
बोर्डले पछिल्लो अवस्थाबारे जानकारी गराउँदै बाढी प्रभावित जिल्लाका केही खण्डबाहेक अन्य सडक सुचारु भएको समेत उल्लेख गरेको छ । यद्यपि यात्रामा जानुअगाडि मौसमबारे जानकारी लिनसमेत बोर्डले पर्यटकलाई सूचित गरेको छ ।















