
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले रसुवा वाढीमा परी ज्यान गुमाएकाहरुको शव पहिचान तथा व्यवस्थापनका लागि अपनाएको नीति उचित नभएको बताएका छन् ।
आईतवार पार्टी कार्यलयमा आयोजित कार्यक्रममा उनले शव पहिचान र व्यवस्थापनको सरकारको कमजोरी देखिएको बताएका हुन् । शवलाई पहिचान नगरि जमिनमुनी व्यवस्थापन गर्ने कार्य गलत भएको उनले बताए । शवको डीएनए परीक्षणपछि पुनः उत्खनन गर्ने गरी व्यवस्थापन गरिएको भएपनि उक्त प्रक्रियाबाट पीडित परिवार सन्तुष्ट हुन नसकेको उनको भनाई छ । शव व्यवस्थापनका विषयमा पीडित परिवारबाट असन्तुष्टि व्यक्त भइरहेको भन्दै उनले यस विषयमा सरकारले ध्यान दिनुपर्ने बताए ।
उनले भने, ‘शव पहिचानको सन्दर्भमा सरकारले जे नीति बनायो, यो अत्यन्त बेठीक भएको छ । यद्यपि डीएनए परीक्षण पछाडि त्यसलाई पुनः उत्खनन गर्ने भन्ने हिसाबले शव व्यवस्थापन गरेको अवस्था छ । यसमा पीडितहरूको दृष्टिकोणबाट हेर्ने हो भने उनीहरूलाई चित्त बुझेको अवस्था छैन । त्यो सार्वजनिक प्रतिक्रियाहरू पनि आइराखेकै छन्, शव व्यवस्थापनका सन्दर्भमा अलिकति ध्यान दिनुपर्ने अवस्था देखिन्छ ।’
एमालेले प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि पार्टी पङ्क्तिबाट सहयोग संकलन गर्न प्रदेश इन्चार्ज र अध्यक्षहरूलाई निर्देशन दिएको पनि महासचिव पोखरेलले जानकारी दिए । उनकाअनुसार पार्टीका तर्फबाट संकलन हुने सहयोग केन्द्रिय राहत कोषमा जम्मा गरिनेछ । महासचिव पोखरेलले वाढी प्रभावित जिल्लामा पार्टी केन्द्रसँग समन्वयका लागि फोकल पर्सन तोकेर अगाडी बढ्नुपर्ने बताए । सम्बन्धित जिल्लामा तोकिने फोकल पर्सनले प्रभावित क्षेत्रका सूचना संकलन गरी पार्टीले सञ्चालन गर्ने राहत तथा उद्धारका काममा समन्वय गर्ने उनको भनाई छ ।















