
काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको शवगृह करिब भरिएको छ । भोटेकोशीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको शव धमाधम फेला पर्न थालेपछि त्रिवि शिक्षण अस्पतालको शवगृह करिब भरिएको हो ।
अस्पतालका फोरेन्सिक विज्ञ डा. गोपाल चौधरीका अनुसार, अहिलेसम्म रसुवा बाढीका ६० वटा शव ल्याइएका छन् । जसमध्ये ८ वटाको पहिचान भइसकेको छ भने २८ वटाको पोस्टमार्टम भइरहेको छ । अब बढीमा १० वटा शव अट्न सक्ने डा. चौधरीले जानकारी दिए ।
उनले भने, ‘अस्पतालको क्षमता १५० हो । पहिचान खुल्न नसकेका ८० वटा शवहरू पहिलादेखि नै थियो । हामीले अब राख्नसक्ने ७० वटा हो ।’
अब १० वटा बढी शवहरू आएको खण्डमा अस्पतालको क्षमता भरिने उनले जानकारी गराए । डा. चौधरीले अस्थायी शव भण्डारणको प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई सुझाव समेत दिएका छन् ।
बाढीमा ज्यान गुमाएर ल्याइएका शवहरू अधिकांश कुहिएको र क्षतविक्षत भएको अवस्थामा अस्पताल आइपुगेको पनि उनले बताए । त्यस्ता शवहरूलाई फ्रिज गरेर राख्दा पनि पहिचानमा समस्या नै हुने उनको भनाई छ ।















