काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित विदेशी नागरिक तथा पर्यटकको खोज, उद्धार र सहयोगका लागि सरकारी निकाय तथा सुरक्षा संयन्त्रले समन्वयमा काम गरिरहेका छन् ।

भदौ १० गते रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लामा आएको बाढीपछि नेपाल पर्यटन बोर्डका अनुसार भदौ १४ गते साँझसम्म २८९ जना विदेशी नागरिक तथा पर्यटकको उद्धार गरिएको छ । त्यस्तै, ५ जनासँग पुनः सम्पर्क स्थापित भएको छ । सम्पर्कमा आएकामध्ये ३ जना स्पेनका, १ जना अमेरिकाका र १ जना बेल्जियमका नागरिक रहेका छन् । अझै ५९१ जना विदेशी नागरिक तथा पर्यटक सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका विदेशी नागरिक तथा पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय नागरिक रहेका छन् । जसअनुसार भारतका १८०, चीनका ८९, जर्मनीका ४, इटालीका २, माल्टाका ४, बुल्गेरियाका १, ओमानका १, पोर्चुगलका १, रुसका २, स्विट्जरल्यान्डका १, टर्कीका २ र अमेरिकाका २ जना उद्धार भएका छन् ।
बोर्डले पर्यटक प्रहरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, पर्यटन क्षेत्रका सरोकारवाला तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउने काम भइरहेको जनाएको छ । साथै प्रमाणित सूचना प्राप्त हुँदै गएपछि सोहीअनुसार जानकारी सार्वजनिक गरिने बोर्डले जनाएको छ ।
नेपाल पर्यटन बोर्डको निःशुल्क नम्बर १२३४, सरकारी आपत्कालीन सहायता नम्बर ११४४ तथा पर्यटक प्रहरीको ९८५१२८९४४५ मा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ ।














