Logo
Logo

होर्मुजमा फेरि तनाव : अमेरिकी हमलापछि इरानको जवाफी मिसाइल प्रहार


0
Shares

काठमाडौं । अमेरिकी सेनाले इरानको लाराक द्विपमा रहेका दुईवटा सैन्य अड्डाहरूमा हमला गरेको छ । अमेरिकी अधिकारीले सो हमलाको पुष्टि गरेका हुन् । जुलाईपछि इरानमाथि अमेरिकाले गरेको यो पहिलो सैन्य हमला हो ।

The current image has no alternative text. The file name is: us-iran.jpg

अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता कमान्डर टिम हकिन्सका अनुसार इरानी रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले होर्मुज जलडमरूमध्यमा समुद्री बारुदी सुरुङ बिछ्याउने र रकेट प्रहार गर्ने तयारी गरिरहेको देखिएपछि अमेरिकी सेनाले जवाफी कारबाही गरेको हो ।

आईआरजीसीले अमेरिकी हमलामा केही मानिस मारिएको र केही घाइते भएको जनाएको छ । साथै, उसले अमेरिकाविरुद्ध ‘जवाफी कारबाही र सजाय’ दिने चेतावनी दिएको छ ।

त्यसपछि इरानी सरकारी सञ्चारमाध्यमले आईआरजीसीले जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डामाथि हमला गरेको दाबी गरेका छन् । यसबारे अमेरिकी सेन्ट्रल कमान्डको कुनै प्रतिक्रिया दिएको छैन । 

आईआरजीसीको दाबीपछि जोर्डनको सेनाले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले जोर्डनको हवाई क्षेत्रमा प्रवेश गरेका आठवटा क्षेप्यास्त्र रोकेको जनाएको छ ।

जोर्डनको सशस्त्र सेनाले सोमबार बिहान जारी गरेको विज्ञप्तिमा आठवटा क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीमार्फत रोकिएको उल्लेख छ ।

यसअघि जुलाईको अन्त्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियान रोक्ने घोषणा गरेका थिए । त्यसयता इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात हमला भएको बताइएको छ ।

पछिल्लो घटनाक्रमले अमेरिका र इरानबीचको तनाव पुनः चर्किन सक्ने संकेत गरेको छ । विशेषगरी विश्वको महत्त्वपूर्ण सामुद्रिक मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्यमा सुरक्षा चुनौती थपिन सक्ने आशङ्का गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्