Logo
Logo

सरकारको दाबी- रसुवागढी सुरुङभित्र कोहि भेटिएनन्, ड्युटी गरिरहेका ३ जना खोइ ?


693
Shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी कार्य सम्पन्न गरी उद्धार टोली फर्किएको छ । नेपाली सेना, आयोजनाका इन्जिनियर र ड्रोन टोलीले सुरुङको अन्तिम भागसम्मै पुगेर विस्तृत खोजतलास गर्दा पनि मानिसहरू नभेटिएपछि टोली धुन्चे फर्किएको हो ।

तथापि, सुरुङभित्र खोजी कार्य सकिएर टोली फर्किसक्दा पनि बाढी आएका बेला ड्युटीमा रहेका तीन जना कर्मचारी भने अझै सम्पर्कविहीन छन् । बाढी आएको समयमा आयोजनाको टनेल भित्र प्लान्ट सञ्चालनको जिम्मेवारीमा रहेका किशोर न्यौपाने (पाल्पा), सन्तोष पौडेल (प्युठान) र छिरिङ तामाङ (रसुवा) को अवस्था अज्ञात छ । सुरुङभित्र कोही नभेटिएको भन्दै उद्धार टोली फर्किएपछि उनीहरू कहाँ गए ? भन्ने प्रश्न उठेको छ ।

सुरुङभित्र खोजी गर्दा कोही नभेटिएको सेनाको दाबी र बाढी आउँदा त्यही सुरुङमा ड्युटीमा रहेका ३ कर्मचारी सम्पर्कविहीन रहेको तथ्यले सरकारी खोज उद्धारमाथि नै प्रश्न उठेको छ । यसैबीच, रसुवागढी आयोजना स्थल र वरपरबाट कुल ९३ जना कर्मचारी तथा श्रमिकहरू अझै सम्पर्कविहीन छन् ।

सम्पर्कविहीन हुनेहरूमा हाइड्रोपावर कम्पनीका ४९ जना, दुई जना ज्यालादारी र शेर्पा हाइड्रो, सिडब्लूई तथा भेनस कन्स्ट्रक्सनका निर्माण श्रमिकहरू रहेका छन् । यसअघि भूमिगत डिसेन्डरमा फसेका ६ जनामध्ये चार जना दुई दिनपछि आफैँ सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए, जसलाई पछि सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्