काठमाडौं, ७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले अप्रत्याशित रुपमा संसद बिघटन गरेर मध्यावधि निर्वाचन गरेपछि नेपाली कांग्रेस विरोधमा उत्रिएको छ । तर, भित्री रुपमा भने कांग्रेस नेताहरु उत्साहित देखिएका छन् । प्रधानमन्त्रीको कदमले कांग्रेसलाई कम्तीमा चार वटा फाइदा भएको छ ।

पहिलो फाइदा भनेको तीन वर्षमै निर्वाचनमा भाग लिन पाउनु हो । सरकार चरम अलोकप्रिय भएका बेला चुनावमा भाग लिन पाउनुले कांग्रेसमा उत्साह बढेको छ । साँच्चिकै निर्वाचन भएमा अहिलेको अवस्थामा कांग्रेस नै पहिलो पार्टी बन्ने सम्भावना छैन । नेकपा फुट्ने निश्चित भएकाले पनि कांग्रेसलाई ठूलो फाइदा हुने देखिन्छ ।
दोस्रो फाइदा भनेको ओलीको कदमले नेकपा फुट्ने लगभग प्रष्ट भएको छ । यसको सबैभन्दा ठूलो फाइदा कांग्रेसलाई नै हुनेछ । यदी नेकपा एकजुट भएरै अर्काे चुनावमा गएको अवस्थामा फेरि पनि नेकपा नै पहिलो पार्टी बन्ने सम्भावना थियो । कांग्रेसले कम्युनिष्टहरुको फुट नै चाहेकोे थियो, ओलीबाटै कांग्रेसको त्यो चाहना पुरा भएको छ ।
तेस्रो फाइदा भनेको संवैधानिक निकायहरुमा समेत भागबन्डा गरेर नियुक्ति गर्न उ सफल भएको छ । अख्तियारमा काग्रेसकै सिफारिसमा जयबहादुर चन्द नियुक्तिका लागि सिफारिसमा परेका छन् । अध्यादेश ल्याएर नियुक्तिका लागि सिफारिस गरिएको ४५ मध्ये १५ पदमा कांग्रेसको सिफारिस कार्यान्वायन भएको छ । प्रचण्ड–माधव नेपालसँग ओलीको झगडाको फाइदा यहाँ पनि कांग्रेसले लिएको छ ।
अर्काे ठूलो फाइदा शेरबहादुर देउवालाई भएको छ । तीन महिनापछि कांग्रेसको महाधिवेशन हुँदै थियो । नयाँ राजनीतिक घटनाक्रमका कारण महाधिवेशन सार्न देउवालाई ठूलो बहाना मिलेको छ । त्यसकारण संसद बिघटनको निर्णयको कांग्रेस नेताहरुले देखाउनका लागि विरोध भएपनि उनीहरु भित्री रुपमा भने खुशी भएका छन् । त्यसकारण सरकारको कदमविरुद्ध कांग्रेस सांसदहरु अदालत जाने सम्भावना समेत न्यून रहेको स्रोत बताउँछ ।












