Logo
Logo

गुप्तचरका हाकिम नै व्यापारी बनेपछि


2.5k
Shares

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका एसपी शेरजंगबहादुर चन्द आफै व्यापारी बनेपछि अदालतमा मुद्धा परेको छ । उनकी पत्नीले मूख्य साझेदारीमा खोलेको एक बिटुमिन कम्पनीको शेयर विवादमा उनी मुछिएका हुन् ।

बढुवाको सम्मुखमा रहेका एसपी चन्द आफैले पनि साथी भाईको भेटघाटमा सानोतिनो व्यापार गरेको बताउँदै आएका छन् । सरकारी कर्मचारीले व्यापार व्यवसायमा संलग्न हुन नपाइने कानुनी व्यवस्था छ । तर, प्रधानमन्त्रीकै मातहमतमा रहेको गुप्तचर निकायमा कार्यरत चन्द भने श्रीमतीले कारोबार गर्ने संस्थामा प्रत्यक्ष संलग्न भएका हुन् ।

एसपी शेरजंगबहादुर चन्द

विभिन्न सञ्चारमाध्यममा आफूलाई आर्थिक विश्लेषक र सुरक्षा विज्ञका रुपमा लेख समेत प्रकासित गरेर चर्चामा आउन चाहने एसपी चन्दले श्रीमतीको नाममा खोलिएका व्यापारिक कम्पनीलाई आफै चलाउने गरेको बताइन्छ ।

राष्ट्रिय अनुसन्धान विभागको सञ्चालन र व्यवस्थापन गर्ने नेपाल विशेष सेवा ऐन २०४२ र नेपाल विशेष सेवा नियमावली, २०४४ ले गरेको व्यवस्थाअनुसार राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले कार्यालयको अनुमति नलिई कुनै पनि नाफामुलक काममा संलग्न हुन नपाउने व्यवस्था गरेको छ ।

एसपी चन्द र उनकी पत्नी मोतिना चन्दसमेतको साझेदारी रहेको बिटुमिन सप्लायर्सबाट अर्की साझेदार हिरा राणाले लगानी रकमको साबा व्याज फिर्ता माग गर्दै काठमाडौं जिल्ला अदालतमा दायर मुद्धा दायर गरेकी थिइन । २०८० असार २७ मा अदालतले राणाबाहेकका अन्य साझेदारका जग्गा रोक्का राख्न सम्बन्धित मालपोत कार्यालय (भूमि प्रशासन) लाई आदेश दिएको थियो । त्यसमा चन्द, उनकी पत्नीसहित लक्ष्मणप्रसाद अर्यालको समेत जग्गा रोक्का राखिएको छ ।

बिटुमिन सप्लायर्समा चन्दकी पत्नी मोतिनाको नाममा ४० हजार कित्ता शेयर रहेको छ । त्यसमा निवेदक राणाको एक लाख प्रतिशत कित्ता र अर्का साझेदार अर्यालको एक लाख ६० हजार कित्ता शेयर देखिन्छ ।

अर्यालको चितवन जिल्लास्थित साविक नारायण गाविस– ८ का ४ कित्ता र साविक मंगलपुर– ३ को एक कित्ता जग्गा रोक्का छ । एसपी चन्दको नाममा रहेको स्याङ्जा जिल्लाको साविक राम्जाकोट गाविस– ४ का तीन कित्ता, धनुषा जिल्लाको धनुषा नगरपालिका– १ को एक कित्ता जग्गा रोक्का राखिएको छ । सोही रोक्काअन्तर्गत उनकी पत्नी मोतिनाको नाममा रहेको काठमाडौं महानगरपालिका– १० को एक कित्ता जग्गा पनि रोक्का राखेर ठूलो कारोबार गरिएको छ ।

यस्तो कारोबार अहिले ब्ल्याक बुल मल्टिप्रपोजमा रहेको शतप्रतिशत शेयर चन्दको नाममा रहेको बुझिएको छ । उक्त कम्पनीमा चन्दको ८० हजार कित्ता र अर्यालको एक लाख २० हजार कित्ता शेयर थियो । त्यही कम्पनीले भारतको अजमेरा फेसन लिमिटेडसँगको साझेदारी र ब्ल्याक बुल गार्मेन्ट ट्रेडिङ प्रालिको नाममा नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा साडीको व्यापार गर्दै आएको छ ।

यो व्यापार उनकी पत्नीले सम्हाल्दै आएकी छिन् । उनले ललितपुर, बालकुमारीमा जेभी अटो मोबाइल्स सञ्चालन गरेका छन् । पत्नी मोतिनाको नाममा ९० हजार कित्ता शेयर रहेको उक्त कम्पनीले टाटा मोटर्सका गाडीको थोक विक्रेता समेत हो । एक प्रकारले उनी पत्नीको नामबाट व्यापारिक साम्राज्य नै खडा गरेका छन् ।

एसपी चन्दले साझेदार अर्यालसहितका आफ्ना साझेदारविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । यसअघि उनले अञ्जु पन्तसहितका साझेदारको तर्फबाट बारा जिल्ला अदालतमा कीर्ते, ठगी र बैंकिङ कसुर झेल्नुपरेको थियो । बिटुमिन कम्पनीको खाता सञ्चालक एकलौटी बनाउनका निम्ति उनले फोटोसपको प्रयोग गरी एकल हस्ताक्षर चल्ने बनाएको आरोप पनि लाग्दै आएको छ ।

त्यसविरुद्ध साझेदारहरु उक्त मुद्दामा गएका थिए । बारामा उनले अदालत ‘मिलाएर’ सोही मुद्दा चितवन जिल्ला अदालत लगे । बाराबाट चितवन जिल्ला अदालत पुगेको केही दिनमै दावी नपुग्ने भनी मुद्दालाई आफ्नो पक्षमा पारेका थिए ।

अहिले पनि काठमाडौं जिल्ला अदालतमा बिटुमिन सप्लायर्सकी साझेदार हिरा राणाका तर्फबाट शेयर फिर्तासँगै कीर्ते मुद्दा चलिरहेको छ । उक्त मुद्दामा उप अनुसन्धान निर्देशक चन्दसमेत प्रतिवादी बनाइएका छन् । उनले आफूविरुद्ध मुद्दा हाल्ने साझेदारलाई विभिन्न किसिमबाट मानसिक तनाव दिने गरेको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्