
भदौ १० गते बुधवार बिहान ९ बजे मर्निङवाकबाट घर फर्किएपछि मोबाइल खोलेर हेरेँ । मोबाइलमा आगोको धुवाँजस्तै मुस्लो उडिरहेको दृश्य थियो र एक जना महिला चिच्याइरहेको आवाज सुनिन्थ्यो । उक्त घटना भोटेकोशीले रसुवा, टिमुरे बगाइसकेको दृश्य थियो । त्यो दृश्य हेर्नासाथ सुरक्षा निकायमा फोन सम्पर्क गरेँ, फोन उठ्यो । आत्तिँदै अ, हजुर भर्खरै हामीले पनि खबर पायौ भन्दै फोन राखिदिए । त्यसपछि मेरो दिमागले काम गरेन । म पनि आत्तिए र के भएको रहेछ भनेर २/४ जनालाई फोन सम्पर्क गरेँ ।
एक जनाले भने– हिमपहिरोले रसुवा बगायो रे, नेपालको भन्सार संसार सबै डुब्यो भन्छन्, सुरक्षाकर्मीहरूसमेत सम्पर्कमा छैनन् भन्दै फोन राखिदिए । एक जनाले भन्यो– नेपालमा मात्र होइन, चीनको भन्सार पनि बाढीले उडायो भन्छन् । यो भयावह र कहालीलाग्दो घटनाले मन झनै आत्तिन थाल्यो । सामाजिक सञ्जाल हेर्न थाले । केही समयपछि त्यस क्षेत्रमा रहेका युवाहरूले आफ्नो मोबाइलमा उक्त घटनाको तस्बिर सार्वजनिक गरेको देखेँ । तस्बिर हेर्दा कहालीलाग्दो प्रलयजस्तो दृश्य देखिन्थ्यो ।
गत वर्ष असार २४ गते पनि रसुवा क्षेत्रमा बाढीको वितण्डाले ठूलो क्षति पु¥याएको थियो । चीन–नेपाल जोड्ने मितेरी पुल नै बगाएको थियो । त्यतिबेला नेपालतर्फ ठूलो क्षति भएको थियो । गत वर्षको घटना सम्झँदा यो पनि त्यस्तै भएको होला भन्ठानेको थिएँ, यो त त्यो भन्दा भयानक अकल्पनीय र हृदयविदारक प्रलय पो रहेछ । मनमनै सम्झिए कति बस्ती बगाए होला, कति मानिसहरू परे होलान् ।
बिहानको समय स्कुल गएका बच्चाहरू के भए होलान् ? काममा गएकाहरूको अवस्था के होला ? अझ जनै पूर्णिमाको बेला गोसाईंकुण्ड गएकाहरू पनि बगे कि क्यो हो ? अझै मानसरोवर गएका नेपाली, भारतीय पर्यटकहरूको अवस्था के होला ? जस्ता अनेकौँ तर्कनाले मनमा छालहरू उर्लिरहेको थियो । जतिजति समय बित्दै गयो, त्यतित्यति दुःखद घटनाको समाचार आइरह्यो । दिनभर समाचार पछ्याइरहेँ ।
सामाजिक सञ्जालबाट पोस्ट भएका तस्बिरहरू हेर्दा आफ्नै आँखा अगाडि बजार बगरमा परिणत भएको थियो । मान्छेहरूका शव नदीमा बगिरहेको थियो, भोटेकोशीले त्यहाँ मात्र होइन, नुवाकोट, धादिङ, चितवनसम्मै वितण्डा मच्चाइरहेको थियो र मानिसहरूले कोलाहलको दृश्य सामाजिक सञ्जालमा पोस्ट गरिरहेका थिए । वास्तवमा, यो घटना मेरो जीवनको पहिलो घटना थियो । बाढीपहिरो, भूकम्प आएको प्रत्यक्ष देखे पनि यस्तो मानव बस्ती नै सखाप भएको र हजारौँ मानिस बेपत्ता भएको मैले सुनेको थिइनँ ।
बिस्तारै दिउँसो अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान पनि यसमा केन्द्रित भयो । ‘ब्रेकिङ न्यूज’ भन्दै धेरैले घटनाको बारेमा महत्वका साथ समाचार प्रसारण गरिरहेको थियो । त्यो दिन प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएको र सामाजिक सञ्जालबाट सन्देश दिएको सुने । यत्रो विपत्तिमा पनि सरकारले हाम्रा दुई छिमेकी र अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको याचना गरेको कतै सुनिन । बरु चीनका राष्ट्रपतिले यस घटनालाई गम्भीरतापूर्वक लिएको र आफ्नो प्रतिनिधिलाई तुरुन्त घटनास्थल पठाएको खबर सुने । त्यसको भोलिपल्ट मात्र प्रधानमन्त्री बालेन साह नुवाकोटतर्फ लागेको समाचार आयो ।
सरकार बनेदेखि नै कुनै पनि विदेशीसँग नभेट्ने भनेर अँध्यारो कोठाबाटै शासन सत्ता चलाइरहेका प्रधानमन्त्री साहले अन्तर्राष्ट्रिय समुदायलाई सहयोगको आह्वान गर्लान् कि भन्ने मनमा लागेको थियो । तर, अर्थमन्त्री स्वर्णिम वाग्लेले सबैभन्दा पहिला विश्व बैंकलाई खबर गरेर सहयोग मागेको उनकै मुखबाट सुनियो । यसले अन्तर्राष्ट्रिय सम्बन्धमा हाम्रो प्राथमिकता के हो र अन्तर्राष्ट्रिय जगत्बाट हामी कति टाढा रहेछौँ भन्ने कुरा प्रस्ट हुन्छ । त्यति मात्र होइन, देश रोइरहँदा हाम्रा अर्थमन्त्री भारतीय टेलिभिजनद्वारा आयोजित कार्यक्रममा व्यस्त भएको दृश्यले यो सरकार मानवीय संवेदनाप्रति कतिसम्म क्रूर रहेछ भन्ने मनमा लाग्यो ।
जे होस्, हाम्रा छिमेकी चीन, भारतलगायत अमेरिका, साउदी अरबजस्ता देशहरू हाम्रो दुःखमा मल्हमपट्टी लगाउन आइपुगे । छिमेकी भारत र चीनको सहयोगले ठूलो राहत भयो । जसमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले ज्यानको बाजी राखेर आपतविपद्मा भगवानको रुप धारण गरेर सयौंको ज्यान जोगाउन सफल भए । अहिले पनि सुरक्षाकर्मीहरू उद्धारमा ज्यानको बाजी लगाएर खटिएका छन् । उनीहरूको विश्वभरबाट प्रशंसा भइरहेको छ ।
नेपालका सुरक्षाकर्मीहरूलाई यति ठूलो दुर्घटनामा उद्धार गर्नुपरेको अनुभव छैन । तर पनि घटना भएलगत्तै सेना, प्रहरी जुन रुपमा खट्यो, त्यसले धेरैको उद्धार भयो । अझ पनि नेपाली सेनाले उद्धार गर्ला भन्ने आशामा बेपत्ता परिवार बसेका छन् । आफन्तको फोटो सामाजिक सञ्जालमा राखेर ज्यान बचाइदिन आग्रह गरेका छन् । यो सिंगो नेपाल, नेपाली जनता र सुरक्षाकर्मीप्रतिको सम्मान हो । देश दुःखेको बेला चीनका राष्ट्रपति सीले भनेझैं ‘नेपाल एक्लो छैन, हामी साथमा छौं’ भन्ने शब्दले आशाका पालुवा मनमा पलाएको छ ।














