काठमाडौं । रसुवामा बाढीपछि त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार भएपछि नेकपा एमालेका सांसद ऐन महरले खुसी व्यक्त गरेका छन् ।

त्रिशूली-३ ‘ए’ बाट सञ्जय साह र कबीर महर्जनको जीवितै उद्धार भएको खबरले आफूलाई खुसी तुल्याएको र आशाको सञ्चार भएको महरले बताएका हुन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै महरले अझै सुरुङभित्र रहेका मानिसहरू पनि जीवितै रहेको खबरले आशा बढाएको बताएका छन् ।
उनले लेखेका छन्, ‘त्रिशूली ३ ए बाट २ जना सञ्जय साह र कबिर महर्जनको जीवितै उद्धार र अझै पनि उक्त टनेलभित्र रहेका मानिसहरू जीवितै रहेको खबरले खुसी तुल्याएको छ र आशाको सञ्चार भएको छ ।’
महरले अझै पाँचवटा टनेलमा उद्धारको काम सुरु नभएको भन्दै सबै टनेलमा उद्धारको काम सँगसँगै अघि बढाउन उनले सरकारसँग आग्रह गरेका छन् । उनले भनेका छन्, ‘५ ओटा टनेलमा त अहिलेसम्म उद्धारको सुरुवात नै भएको छैन । त्यसैले सरकार प्लिज अरू सबै टनेलमा पनि यो उद्धारको कामलाई सँगै अगाडि बढाऔँ र हाम्रा दाजुभाइहरूको जीवन रक्षा गरौँ ।’














