काठमाडौं । त्रिशूली-३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । १० दिनपछि जीवितै उद्धार गरिएकामध्ये एक जनालाई थप उपचारका लागि छाउनीस्थित सैनिक अस्पताल पुर्याइएको छ ।

उद्धार गरिनेहरूमा ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबीर महर्जन रहेका छन् । साह आयोजनामा मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए ।
बाढी आएको १० औँ दिनमा नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले उनीहरूको उद्धार गरेको हो । सुरुङभित्रबाट थप आवाज सुनिएपछि उद्धार टोली भित्र प्रवेश गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।














