Logo
Logo

रसुवागढी-चिलिमे आयोजनामा फसेका व्यक्ति सुरक्षित रहेको आशा पलायो : कुलमान घिसिङ


504
Shares

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली-३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका २ जनाको १० दिनपछि उद्धार गरिएको छ ।  सुरुङबाट मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कविर महर्जनलाई आज बिहान उद्धार गरिएको हो । 

यसबाट अति खुसी हुँदै पूर्वऊर्जामन्त्री कुलमान घिसिङले रसुवागढी र चिलिमे जलविद्युत् केन्द्र तथा माथिल्लो त्रिशूली-१, अप्पर त्रिशूली ३ बी र लाङटाङ खोला जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्ति पनि सकुशल रहेको आशा पलाएको बताएका छन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भदौ १० गते त्रिशूली नदीमा आएको प्रलयकारी बाढीका कारण माथिल्लो त्रिशूली-३ ए जलविद्युत्‌गृहको भूमिगत विद्युत्‌गृहमा फस्नुभएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारी साथीहरूको सकुशल जीवितै उद्धार सुरु भएको खबरले अत्यन्तै खुसी र राहतको अनुभूति भएको छ। यस घटनाबाट रसुवागढी र चिलिमे जलविद्युत् केन्द्रका भूमिगत विद्युत्‌गृह तथा माथिल्लो त्रिशूली-१, अप्पर त्रिशूली ३ बी र लाङटाङ खोला जलविद्युत् आयोजनाका सुरुङमा फस्नुभएका व्यक्तिहरू पनि सकुशल रहेको आशा र विश्वास थप बलियो भएको छ।’

उनले लेखेका छन्, ‘तसर्थ रसुवागढी, चिलिमे, माथिल्लो त्रिशूली-१, अप्पर त्रिशूली ३ बी र लाङटाङ खोला जलविद्युत् आयोजनामा फस्नुभएका सबै व्यक्तिको खोज तथा सकुशल उद्धारमा तत्काल र तदारुकताका साथ ध्यान केन्द्रित गर्न सम्बन्धित सम्पूर्ण निकायको गम्भीर ध्यानाकर्षण गराउँदछु । उद्धार कार्यमा हाम्रो विज्ञता, प्राविधिक क्षमता र साधन/स्रोतअनुसारको हरसम्भव सहयोग भइरहेको छ र निरन्तर रहनेछ । उद्धारका लागि अहोरात्र खटिनुभएका उद्धारकर्मी, सुरक्षाकर्मी, प्राविधिक तथा सहयोगी सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार तथा धेरै/धेरै धन्यवाद ।’

प्रतिक्रिया दिनुहोस्