काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गृहमन्त्री सुधन गुरुङलाई सामाजिक सञ्जालमा भाइरल हुनेभन्दा टनेलमा फसेका नागरिकको जीवन रक्षामा सम्पूर्ण शक्ति परिचालन गर्न आग्रह गरेका छन् ।

बाढीपछि उद्धार गरिएका व्यक्तिलाई सुरक्षा र स्वास्थ्यकर्मीले हेलिकोप्टरतिर लैजाँदा गृहमन्त्रीले स्लाइन बोकेर भिडियो खिचेकोप्रति लक्षित गर्दै उनले यस्तो भनेका हुन् । महरले गृहमन्त्रीले उद्धार अभियानको कमाण्ड सम्हाली सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गर्नुपर्ने बताए । अझै अन्य टनेलमा नागरिक फसेको भए तत्काल उद्धार गर्न र आवश्यक परे अन्तर्राष्ट्रिय सहयोग लिनसमेत आग्रह गरे ।
‘गृहमन्त्रीज्यू१ प्लिज कमाण्ड सम्हाल्नुहोस्, समन्वय र सञ्चार गर्नुहोस्,’ उनले भने । उनले राहत कोषमा अर्बौँ रकम भएको बताउँदै विज्ञ र प्राविधिक ल्याएर छिटो काम गर्न सुझाव दिएका हुन् । उनले टनेलभित्र हरेक सेकेन्ड महत्त्वपूर्ण भएकाले स्रोत–साधन तत्काल परिचालन गर्न आग्रह गरेका छन् ।
महरले उद्धारस्थलमा अक्सिजन सिलिन्डर बोक्नुभन्दा नेतृत्व र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । ‘तपाईँको काम सिलिन्डर बोक्ने होइन । त्यसले काम गर्नेलाई डिस्टर्ब हुन्छ,’ उनले भने । सेनाले हट्न भनेको घटना स्मरण गराउँदै उनले गृहमन्त्रीलाई आफ्नो भूमिका पुनर्विचार गर्न आग्रह गरे । सिलिन्डर बोक्ने काम प्रहरी जवानले गर्न सक्ने भएकाले गृहमन्त्री आवश्यक नभएको र भाइरल व्यक्तिले यस्तो स्टन्ट गर्न नपर्ने उनको भनाइ छ ।














