काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन र राज्य सञ्चालनमा आफ्नो भौतिक उपस्थितिलाई लिएर भइरहेको आलोचनाको जवाफ दिँदै आफु कुर्सीमा बसेर कागजात समात्ने मात्रै नभएको बताएका छन् । गृहमन्त्री गुरुङले ‘कुर्सीमा बसेर कागजात समात्ने’ पुरानै शैलीको नेतृत्व खोज्नेहरूलाई ‘गलत युग’ मा रहेको र यो जेनेरेसन ग्याप रहेको बताएका छन् ।

गृहमन्त्री गुरुङको पछिल्ला उद्धारमा देखिएको विषयलाई सामाजिक सञ्जालमा आलोचना भइरहेको समयमा गुरुङले सो आरोपहरूको जवाफ दिएका हुन् । शुक्रवार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा रहेको प्रष्ट पारेका छन् ।
‘यदि पुरानो शैलीमा नेतृत्वलाई मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने कुरासँग जोडेर हेर्नुहुन्छ भने, तपाईँ गलत युगमा हुनुहुन्छ(जेनेरेसन ग्याप),’ उनले लेखेका छन् ।
उनले लेखेका छन्, ‘विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा छ चिन्ता लिनु पर्दैन । अनलाइनबाट हामी हरेक ४ घण्टामा कमान्ड सञ्चालन र रणनीतिक बैठकहरू गरिरहेका छौँ।’
फिल्डको वास्तविक यथार्थ नबुझी कुर्सीबाट मात्र नेतृत्व गर्दाको परिणाम देशले वर्षौँदेखि भोग्दै आएको भन्दै उनले पुरानो कार्यशैलीको आलोचना गरेका छन् । ‘उही पुरानै प्रणालीबाट भिन्न र उत्कृष्ट परिणामको आशा गर्दै केही व्यक्तिहरूले अझै पनि हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ,’ गृहमन्त्री गुरुङले लेखेका छन् ।
डिजिटल माध्यमको प्रयोगले प्रशासनिक र उद्धारका कामहरू टेबल पछाडि बसेर भन्दा धेरै छिटो र प्रभावकारी रूपमा भइरहेको उनको दाबी छ । आलोचकहरूलाई लक्षित गर्दै उनले भनेका छन्, ‘म कहाँ बसेको छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिन अनुरोध गर्न चाहन्छु ।’
रसुवाको भोटेकोशी बाढी र त्यसपछिको उद्धार कार्यमा गृहमन्त्रीको कार्यशैली र प्रत्यक्ष उपस्थितिलाई लिएर कतिपय राजनीतिक वृत्त र सामाजिक सञ्जालमा प्रश्न उठेपछि उनको यो स्पष्टीकरण आएको हो ।














