
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढी तथा त्यसबाट सिर्जित विपद्को पछिल्लो वस्तुस्थिति सार्वजनिक गरेको छ । २०८३ भदौ १९ गते साँझ ६ः ३० बजेसम्मको अद्यावधिक विवरणअनुसार, बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या १ हजार २९४ पुगेको छ ।
प्राधिकरणकाअनुसार बाढीका कारण सबैभन्दा बढी मानवीय क्षति चितवनमा भएको छ, जहाँ ३५९ जनाको शव फेला परेको छ । अन्य जिल्लाहरूमा नवलपरासी पूर्वमा २२१, नवलपरासी पश्चिममा २१२, नुवाकोटमा १८४, रसुवामा १४०, गोरखामा ७३, धादिङमा ६७ र तनहुँमा ३८ जनाको शव फेला परेको छ । फेला परेका शवहरूमध्ये हालसम्म ९६ जनाको मात्र सनाखत भई आफन्तले बुझिलिएका छन् ।
विपद्मा परेकाहरूको खोज र उद्धारका लागि सरकारले २१ हजार ४२१ सुरक्षाकर्मी परिचालन गरेको छ । जसमा नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७,९३१ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना सहभागी छन् । हालसम्म कुल १३ हजार ०९५ जनाको जीवितै उद्धार गरिएको छ । शुक्रवार मात्रै त्रिशुली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका २ जनालाई जीवितै उद्धार गरिएको छ ।
प्राधिकरणको विवरणअनुसार अझै ५ हजार ०५३ जना सम्पर्कविहीन रहेका छन्। बेपत्ता हुनेहरूमा रसुवाका २ हजार १३० जना, नुवाकोटका २ हजार ३४० जना र ५८३ जना विदेशी नागरिक रहेका छन् । नेपाली सेनाले हालसम्म ८८१ पटक र निजी क्षेत्रका हेलिकप्टरले १२९ पटक उडान गरी उद्धार तथा राहत कार्यमा सहयोग पु¥याएका छन् ।
बाढीबाट घाइते भएका ५ हजार ६६३ जनाको उपचार गरिएको छ । जसमध्ये ३ हजार २६६ जनाको नेपाली सेना, २ हजार ०८३ जनाको सशस्त्र प्रहरी र ३१४ जनाको विभिन्न अस्पतालहरूमा उपचार गरिएको छ । रसुवा, नुवाकोट र धादिङका ३७ वटा होल्डिङ सेन्टरमा हाल ४ हजार ६२७ जनाले आश्रय लिइरहेका छन् ।
राहत सामग्री ढुवानीका लागि काठमाडौंबाट ७७ ट्रक र ३८ बोलेरो परिचालन गरिएको छ भने दुर्गम क्षेत्रमा ९ वटा हेलिकप्टर उडानमार्फत खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ । सशस्त्र प्रहरीले नुवाकोट र रसुवामा १७३ पटक हवाई उडानमार्फत राहत सामग्री पु¥याएको छ । सरकारले रसुवा र नुवाकोटलाई १–१ करोड र धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ । साथै, अति प्रभावित १५ वटा पालिकाका लागि १३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
प्रारम्भिक विवरणअनुसार ७ हजार ५७० वटा निजी घरमा क्षति पुगेको छ । सरकारी संरचनातर्फ ४८ वटा भवन (३५ पूर्ण र १३ आंशिक क्षति), १८ वटा विद्यालय र ७ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ । यातायात पूर्वाधारतर्फ ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको प्राधिकरणले जनाएको छ । बाढीबाट कुल ३२ हजार ९६३ जनसंख्या प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।














