काठमाडौं । बाहिर महाप्रलय छ । पानी, लेदो र ढुङ्गाले बाटो मात्र होइन, सुरुङको मुखसमेत पुरिएको छ । बाहिरबाट हेर्दा लाग्छ- भित्र कोही पनि बाँचेको छैन । तर त्यही अँध्यारो सुरुङभित्रबाट अचानक आवाज आउँछ- ‘हुन्छ…!’
यही एउटा शब्दले त्रिशूली- ३ ‘ए’ आयोजनाको उद्धार अभियानको दिशा नै बदलिदियो । भदौ १० गते आएको विनाशकारी बाढीपछि त्रिशूली- ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र कामदारहरू फसे । दिन बित्दै गए । एक दिन… दुई दिन होइन, नौ दिन बित्यो । परिवारको आशा लगभग सकिन लागेको थियो । तर शुक्रबार उद्धार टोलीले सुरुङभित्रबाट दुई जना सञ्जय साह र कविर महर्जनलाई जीवितै बाहिर निकाल्यो । उनीहरू करिब १७० मिटर भित्र फसेका थिए ।
अब प्रश्न उठ्छ- यति धेरै दिन उनीहरू बाँच्न कसरी सम्भव भयो ? यसको पहिलो उत्तर हो- सुरुङको संरचना । बाढीले सुरुङको ठूलो हिस्सा लेदो, माटो र गेग्रानले पुरिए पनि उनीहरू रहेको ठाउँ पूर्ण रूपमा पानीले भरिएको थिएन । अर्थात्, सुरुङभित्र कतै हावा अडिने खाली ठाउँ थियो । त्यही ठाउँ उनीहरूका लागि जीवन र मृत्युबीचको पर्खाल बन्यो ।
बाहिरबाट हेर्दा सुरुङ बन्द थियो । तर भित्र उनीहरू रहेको भागमा केही हावा बाँकी थियो । यही कारण उनीहरूले लामो समयसम्म सास फेर्न सके । तर, हावा मात्रै भएर मानिस नौ–दस दिनसम्म बाँच्न सक्दैन । त्यसैले अर्को महत्त्वपूर्ण कुरा आउँछ- खानपिन ।
उनीहरूले कति पानी पाए, के खाए र कति मात्रामा खाए भन्ने विस्तृत विवरण अझै सार्वजनिक भइसकेको छैन । भोक लाग्यो भन्दैमा खाना पाइँदैन, तिर्खा लाग्यो भन्दैमा पानी आउँदैन । त्यसमाथि अँध्यारो, चिसो र मृत्युको डर ! यस्तो कहालीलाग्दो अवस्थामा पनि उनीहरू कसरी बाँच्न सफल भए भन्ने कुरा साँच्चै नै आश्चर्यको विषय बनेको छ । सुरुङबाट नौ दिनपछि जीवितै उद्धार गरिएका सञ्जय साहले त भित्र रहँदा आफूले निरन्तर महामन्त्र जपिरहेको बताएका छन् ।
उद्धारपछि सञ्जय साहको चोट गम्भीर नभएको बताइएको छ भने कविर महर्जनको हातखुट्टा चलाउन समस्या देखिएको छ । दुवैलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उनीहरूको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ ।
तर यो घटनाको सबैभन्दा निर्णायक मोड थियो- आवाज । उद्धार टोलीले सुरुङको बाहिर काम गरिरहेको थियो । उनीहरूलाई सुरुङभित्र मानिस जीवित हुन सक्ने आशा त थियो, तर कुन ठाउँमा छन् भन्ने ठ्याक्कै थाहा थिएन । यही कारण उद्धार अभियान सामान्य खोजीभन्दा धेरै जटिल थियो । सुरुङभित्र करिब ५० देखि ६० मिटर जति गेग्रान हटाइसकेपछि उद्धारकर्ताले मानवीय आवाज सुनेका थिए । उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया आएको थियो ।
त्यो ‘हुन्छ’ सामान्य जवाफ मात्र थिएन, त्यो भित्र जीवन अझै बाँकी छ भन्ने एउटा संकेत थियो । त्यसपछि उद्धारको गति तीव्र पारियो । आवाज आएको दिशालाई आधार बनाएर टोलीले लेदो, माटो र गेग्रान हटाउँदै बाटो खोल्यो । अन्ततः दुई जनालाई सकुशल बाहिर निकालियो ।
यस घटनाले अर्को एउटा महत्त्वपूर्ण कुरा पनि देखाएको छ– विपद्मा प्रविधि चाहिन्छ, मेसिन चाहिन्छ, भारी उपकरण चाहिन्छ । तर कहिलेकाहीँ एउटा सानो आवाजले करोडौँको मेसिनभन्दा ठूलो र सही सूचना दिन्छ । ड्रोनले बाहिरबाट हेर्न सक्छ, मेसिनले माटो हटाउन सक्छ, तर सुरुङको अँध्यारोभित्र मान्छे जीवित छ कि छैन भन्ने सबैभन्दा बलियो प्रमाण अन्ततः मान्छेकै आवाज बन्यो ।
यहाँ छुटाउनु नहुने अर्को महत्त्वपूर्ण कुरा हो– निजी क्षेत्रको भूमिका । भोटेकोशीमा आएको बाढीले रसुवा र नुवाकोटका १२ वटा जलविद्युत् आयोजनाका सुरुङ पुरिए । सयौँ कर्मचारी फसे । सुरुमा सरकारले एकद्वार प्रणालीअन्तर्गत आफूले मात्रै उद्धार कार्य गर्ने बताएको थियो । छिमेकी देशका प्राविधिकहरूलाई पनि गुहारेन । पछि भारत र चीनका प्राविधिकसहित उद्धार कार्यमा पहल त ग¥यो, तर सुरुङमा फसेका कामदारको स्थिति ७ दिनसम्म पनि पत्ता लगाउन सकेन । अनि मात्र सरकारले निजी क्षेत्रका ऊर्जा उत्पादक कम्पनीहरूलाई मिलेर उद्धार कार्य गर्न आह्वान ग¥यो ।
आयोजनाका टनेलमा फसेकाहरूको उद्धार गर्न सरकारले एक्लै नसकेपछि गत आइतबारदेखि नै केही निजी कम्पनीहरूले प्राविधिक तथा उद्धारकर्ता खटाएका थिए । नुवाकोटमा भएका आयोजनाका प्रतिनिधि र प्राविधिक टोलीबीचको छलफलपछि केही आयोजनाका प्राविधिकहरू फिल्डमा खटिए । उनीहरूले सुरुदेखि नै उद्धारको अनुमति मागेका थिए, तर सरकारले ढिलाइ गर्दै अनुमति दिएको थिएन ।
सरकारबाट अनुमति पाउनेबित्तिकै उनीहरू फिल्डमा खटिए । उनीहरूलाई सुरुङको अवस्था कस्तो हुन्छ भन्ने राम्रो ज्ञान थियो । उनीहरू स्वयंले सुरुङ बनाएको हुनाले अरूसँगभन्दा बढी प्राविधिक जानकारी उनीहरूसँगै थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल फिल्डमा खटिएका त थिए, तर सुरक्षाकर्मीसँग जनशक्ति भए पनि सुरुङको जटिल प्राविधिक ज्ञान थिएन । त्यसैले उनीहरूबाट मात्रै उद्धार सम्भव थिएन । निजी क्षेत्र र सुरक्षा निकायको सहकार्यपछि मात्र यो सफलता प्राप्त भएको हो ।
यदि सञ्जय र कविर १७० मिटरभित्र नौ–दस दिनसम्म बाँच्न सक्छन् भने सुरुङभित्र अझै अरू मानिस पनि जीवित हुन सक्छन् भन्ने आशा जागेको छ । यही कारण यी दुई जनाको उद्धार अन्त्य होइन, नयाँ खोजीको सुरुवात हो । उद्दारपछि सञ्जयले सुरुङभित्र अरू मानिस पनि फसेको हुन सक्ने बताएका छन् ।
उता त्रिशूली करिडोरका विभिन्न जलविद्युत् आयोजनाका सुरुङहरूमा अझै ठूलो संख्यामा कामदार फसेको आशंका छ । सबैभन्दा बढी मानिस माथिल्लो त्रिशूली–१ मा फसेको अनुमान गरिएको छ । आयोजनाका इएनएस म्यानेजर सञ्जीव कार्कीका अनुसार नेपाली सेनासँगको समन्वय तथा विभिन्न विदेशी उद्धारकर्ताहरूको समेत संलग्नतामा उद्धार कार्य जारी छ । शुक्रबार दिउँसोसम्म सुरुङभित्र २०० मिटरसम्म पुगेर खोजतलासको काम भएको छ । बिहीबार सेनाले सुरुङको बन्द भाग र एउटा शव फेला परेको जनाएको थियो । यो आयोजनामा करिब तीन सय जना फसेको आशंका गरिएको छ ।
आयोजनाका परामर्शदाता, ठेकेदार कम्पनी र कर्मचारी गरी ५७३ जना अझै सम्पर्कविहीन छन् । त्यसमध्ये करिब ३०० जना सुरुङभित्र काम गर्ने मजदुर थिए । बाढी आएको दिन आयोजनामा १ हजार ४ सयभन्दा बढी मानिस काम गरिरहेको हुन सक्ने अनुमान छ । त्रिशूली-३ ‘ए’ बाट दुई जनाको जीवितै उद्धार गरिएपछि अरु पनि जिउँदै हुनसक्ने आशा पलाएको छ ।
हिजोसम्म उनीहरूको परिवारले शव पाइने आशा गरिरहेको थियो होला, आज त्यही परिवारले आफ्ना मान्छे जीवितै भेटिएको खबर सुन्दैछ । यसले हामीलाई एउटा ठूलो पाठ पनि सिकाएको छ- विपद्मा ‘अब केही हुन सक्दैन’ भन्ने निष्कर्ष निकालिहाल्नु हुँदैन । किनकि सुरुङ बाहिरबाट बन्द देखिन सक्छ, तर भित्र जीवन बाँकी हुन सक्छ । आवाज कमजोर हुन सक्छ, तर आशा जीवित हुन सक्छ । र, कहिलेकाहीँ दस दिनसम्म अँध्यारोमा थुनिएको मान्छेलाई बाहिर ल्याउन ठूलो चमत्कार होइन- उसको आवाज सुन्ने धैर्य, सही ठाउँमा पुग्ने प्राविधिक सीप र अन्तिमसम्म हार नमान्ने उद्धार टोली चाहिन्छ । त्रिशूली-३ ‘ए’ का सञ्जय र कविर त्यसैको प्रमाण हुन् । बाढीले बाटो थुन्न सक्छ, सुरुङ पुर्न सक्छ, तर जीवनलाई त्यति सजिलै पुर्न सक्दैन ।
अब प्रश्न उनीहरू कसरी बाँचे भन्ने मात्र होइन, सुरुङभित्र अझै कोही ‘हुन्छ’ भनेर जवाफ दिन बाँकी छ कि छैन- त्यो खोज्नु हो । त्रिशूली-३ ‘ए’ को यो घटनाले ‘आशा मर्न दिनु हुँदैन’ भन्ने ठूलो सन्देश दिएको छ । प्राविधिक टोलीको सही रणनीति, सुरक्षा निकायको अदम्य साहस र फसेका मजदुरहरूको बलियो आत्मबलबीचको सही तालमेलकै कारण सम्भावित ठूलो शोक आज आशाको किरणमा परिणत भएको छ ।
तर अब दुई जनाको उद्धार भयो भन्दैमा ढुक्क भएर बस्ने बेला होइन । सुरुङभित्र अझै कोही जीवनका लागि पर्खिरहेको हुन सक्छ । त्यसैले अबको प्राथमिकता एउटै हुनुपर्छ– बाँकी रहेकाको खोजी र सकुशल उद्धार । किनकि एउटा जीवन बचाउनु सफलता हो, तर बाँकी जीवन बचाउन अन्तिमसम्म प्रयास गर्नु हाम्रो जिम्मेवारी हो ।














