Logo
Logo

संकटमा दरिद्र मानसिकता


0
Shares

बुधबार चीनको तिब्बत क्षेत्रबाट एक्कासी आएको बाढीले देशमा महाविपत्ति निम्त्यायो । धेरैको घर बगेको छ । सडक बगेको छ । पुल बगेको छ । व्यवसाय बगेको छ । कतिपयका त परिवार नै बगेका छन् । अस्पतालमा शव राख्ने ठाउँ छैन । कुन शव कसको हो भनेर पहिचानसम्म हुन सकेको छैन । आफन्तको खोजीमा मानिसहरू भौँतारिरहेका छन् । सयौँ परिवार आफ्ना मान्छे जिउँदा छन् कि छैनन् भन्ने अन्योलमा छन् । उद्धारकर्मीहरू आफ्नै ज्यान जोखिममा राखेर पानी, हिलो र भग्नावशेषसँग जुधिरहेका छन् ।

चारैतिर चीत्कार छ । आँसु छ । छटपटी छ । शोक छ । कसैको घर छैन । कसैको परिवार छैन । कसैको भविष्य छैन । यस्तो बेला सामान्यतः मान्छेमा मान्छेप्रतिको संवेदना अझ गहिरो हुनुपर्ने हो । दुःखमा एकअर्काको हात समाउनुपर्ने हो । तर यही महाविपत्तिको बीचमा हाम्रो समाजको एउटा अर्को डरलाग्दो अनुहार पनि देखिएको छ– दरिद्र मानसिकताको अनुहार ।

देश यस्तो महाविपत्तिमा हुँदा केही भने एक–आपसमा लडेका छन्, भिडेका छन् । पीडितको आँसु पुछ्नुपर्ने बेला पार्टीका कार्यकर्ता ‘तेरो पार्टी, मेरो पार्टी’ भन्दै जुधिरहेका छन् । राहतमा हात बढाउनुपर्ने बेला सामाजिक सञ्जालमा एकअर्कालाई गाली गर्न व्यस्त छन् । फेक क्यूआर कोड बनाएर अरूलाई बदनाम गराउन खोजिएको छ । अझ एउटा अपराधीलाई एआईबाट कुनै राजनीतिक पार्टीको टी–सर्ट र चुनाव चिन्ह लगाइदिएर सामाजिक सञ्जालमा फैलाउनेसम्मको हर्कत भएको छ । यो कतिसम्मको दरिद्र मानसिकता हो ?

देश डुबेको बेला पनि कसैलाई पार्टी देखिन्छ । कसैलाई नेता देखिन्छ । कसैलाई आफ्नो गुट देखिन्छ । कसैलाई विरोधीलाई कसरी बदनाम गर्ने भन्ने चिन्ता छ । मान्छे हराइरहेका छन्, तर यिनीहरू आफ्नो राजनीतिक ‘इगो’ खोजिरहेका छन् । शवको पहिचान हुन सकेको छैन, तर यिनीहरू सामाजिक सञ्जालमा आफ्नो पक्ष सही र अर्को पक्ष गलत साबित गर्ने अभियानमा छन् । कस्तो विडम्बना !

गत बुधबार सरकारले बाढीपीडितका लागि राहत कोषमा सहयोग गर्न अपिल ग¥यो । सरकारले आधिकारिक क्यूआर कोडसमेत सार्वजनिक ग¥यो । त्यसपछि सर्वसाधारणले आफ्नो गच्छेअनुसार सहयोग गर्न थाले । कसैले गाँस काटेर पैसा दिए । कसैले खाना पठाए । कसैले कपडा दिए । कसैले उद्धारमा आफ्नो ज्यान जोखिममा राखे । कसैले हराएका मानिस खोज्न दिनरात खटे । यहाँ पार्टी थिएन । जात थिएन । धर्म थिएन । वर्ग थिएन । थियो त केवल मान्छे बचाउनुपर्छ भन्ने एउटा भावना थियो ।

तर अर्कोतिर केही मानिसको चेतना अझै ‘हाम्रो मान्छे र तेरो मान्छे’मै अड्किएको छ । बाढीले घर बगाएको छ, तर यिनीहरूलाई पार्टीको झन्डा ठूलो लाग्छ । मान्छे बगेका छन्, तर यिनीहरूलाई विरोधीलाई कसरी गाली गर्ने भन्ने चिन्ता छ । राहत उठाउनुपर्ने बेला फेक क्यूआर बनाएर जनतालाई भ्रमित पार्न खोजिन्छ । अनि एआईजस्तो शक्तिशाली प्रविधिलाई पनि झुट फैलाउने हतियार बनाइन्छ ।

एआई मानिसको जीवन सहज बनाउन आएको हो । गलत सूचना रोक्न, शिक्षा दिन, अनुसन्धान गर्न, सिर्जना गर्न प्रयोग हुनुपर्ने हो । तर हामीमध्ये केहीले त्यसलाई पनि राजनीतिक बदला र चरित्रहत्या गर्ने खेलौना बनाइरहेका छौँ । अपराधीको अनुहारमा राजनीतिक दलको टी–सर्ट लगाइदिएर कुनै दललाई बदनाम गर्ने प्रयास भइरहेको छ । यो, केवल एउटा पार्टीमाथिको आक्रमण होइन, सूचना र प्रविधिको दुरुपयोगमार्फत समाजको विवेकमाथिको आक्रमण पनि हो ।

अझ विडम्बना के भने, यस्ता काम गर्नेहरू आफूलाई राजनीतिक रूपमा सचेत नागरिक ठान्छन् । जो महाविपत्तिमा फेक सूचना फैलाउँछ, ऊ सचेत होइन । जो पीडितको दुःखलाई राजनीतिक गालीगलौजको सामग्री बनाउँछ, ऊ सचेत होइन । अनि जो आफ्नो पार्टीको बचाउ गर्न सत्यलाई समेत बंग्याउन तयार हुन्छ, ऊ राजनीतिक कार्यकर्ता होला, तर विवेकशील नागरिक होइन ।

दरिद्रता भनेको केवल गरिब हुनु होइन । पैसा नहुनु दरिद्रता होइन, संवेदना नहुनु दरिद्रता हो । विवेक नहुनु दरिद्रता हो । अरूको दुःखमा पनि आफ्नो स्वार्थ मात्र देख्नु दरिद्रता हो । यही दरिद्र मानसिकता बाढीको किनारमा पनि देखियो । कोही बग्दै गरेको ग्यास सिलिन्डर समात्न तँछाडमछाड गरिरहेका छन् । कोही बाढीले बगाएर ल्याएका दाउरा तानिरहेका छन् । कोही मान्छे खोज्नुपर्ने नदीमा माछा मारिरहेका छन् । अझ मृत शरीरबाट सुनका गरगहना निकाल्ने जस्तो अमानवीय घटना पनि भएको छ ।

कल्पना गरौँ– त्यो शव कसैको बुबा हुन सक्छ । कसैकी आमा हुन सक्छ । कसैको दाजु, भाइ, दिदी, बहिनी वा जीवनसाथी हुन सक्छ । उता परिवार अझै पनि ‘फोन आउला कि, भेटिएला कि’ भनेर बाटो हेरिरहेको हुन सक्छ । तर त्यही मान्छेको शवबाट कसैले गहना निकालेर आफ्नो खल्ती भर्छ भने त्यो चोरी मात्र होइन, मानवताको अन्त्य हो ।

अर्कोतिर सामाजिक सञ्जालमा कसैको मृत्यु, कसैको चीत्कार र कसैको घरबारको विनाश ‘कन्टेन्ट’ बनेको छ । उद्धार गर्नुपर्ने हातले मोबाइल समातेका छन् । पीडितलाई सम्हाल्नुपर्ने बेला क्यामेरा तेस्र्याइएको छ । कसले पहिले भिडियो हाल्ने ? कसको भिडियोमा धेरै भ्युज आउने ? कसले धेरै लाइक पाउने ? अनि सके डलरसमेत कमाउने ?

विपत्तिको सूचना दिनु गलत होइन । फोटो–भिडियो उद्धारका लागि महत्वपूर्ण हुन सक्छ । तर पीडितको पीडा बेचेर भ्युज कमाउनु पत्रकारिता होइन, सामाजिक जिम्मेवारी होइन । त्यो दुःखमाथिको व्यापार हो ।

कसैले आफ्नो गाँस काटेर राहत दिन्छ कि बाढीले बगाएको सामान टिप्छ ? कसैले घाइतेलाई अस्पताल पु¥याउँछ कि लासबाट गहना निकाल्छ ? कसैले सही सूचना फैलाउँछ कि फेक क्यूआर बनाउँछ ? कसैले पीडितको हात समाउँछ कि पार्टीको नाममा अर्को मान्छेलाई गाली गर्छ ? यही प्रश्नको उत्तरले हामी कस्ता मानिस हौँ भन्ने देखाउँछ ।

राजनीति गरौँ । पार्टीको पक्षमा बोलौँ । विरोध गरौँ । बहस गरौँ । तर देश जलिरहेको बेला पनि पार्टीको नाममा मान्छे–मान्छे भिडाउने राजनीति कस्तो राजनीति हो ? बाढीले मान्छे बगाइरहेको बेला फेक क्यूआर बनाएर अर्को पक्षलाई बदनाम गर्नु कस्तो राजनीति हो ? अपराधीलाई एआईबाट पार्टीको पोसाक लगाएर भ्रम फैलाउनु कस्तो राजनीतिक संस्कार हो ? यो राजनीति होइन, दरिद्र मानसिकताको प्रदर्शन हो ।

देशलाई अहिले गाली गर्ने हात होइन, सहयोग गर्ने हात चाहिएको छ । फेक सूचना होइन, सही सूचना चाहिएको छ । पार्टीको झन्डा होइन, मानवीयताको झन्डा चाहिएको छ । भोटेकोशीले बगाएको सडक बन्लान् । पुल बन्लान् । घरहरू फेरि बनिएलान् । बजार फेरि चल्ला । तर जसको परिवारको सदस्य बगेको छ, त्यो मान्छे फर्केर नआउन सक्छ । बाढीले हाम्रो घर, सडक, पुल र सम्पत्ति बगाएको छ । कम्तीमा हाम्रो विवेक नबगाओस् । हाम्रो संवेदना नबगाओस् । हाम्रो मानवता नबगाओस् ।

प्रतिक्रिया दिनुहोस्