
काठमाडौं । गृह मन्त्रालयले सहसचिव र उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ । शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै गृहले १४ जना सहसचिव र ९ जना उपसचिव गरी २३ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो ।
यस सरुवासँगै झापा, सुर्खेत, बारा, गोरखा, रौतहट, दोलखा, पर्वत लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् ।
मन्त्रालयको निर्णय अनुसार सहसचिव श्रवण कुमार पोखरेललाई झापाको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ । झापाका सीडीओ शिवराम गेलाललाई भने गृह मन्त्रालयमा तानिएको छ ।
यसैगरी महेन्द्र कुमार सापकोटालाई सुर्खेत, खडानन्द अधिकारीलाई बारा, धर्मेन्द्र कुमार मिश्रलाई गोरखा, रेखा कँडेललाई दोलखा, गंगा बहाहादुर क्षेत्रीलाई पर्वत र लक्ष्मी प्रसाद पौडेललाई रौतहटको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।
सहसचिव ऋषिराम तिवारीलाई लागू औषध नियन्त्रण विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ । यस्तै, रौतहटका सिडियो दिनेश सागर भुसाल, गोरखाका तुलसी बहादुर श्रेष्ठ, दोलखाका हरि प्रसाद घिमिरेलाई गृह मन्त्रालय वा अन्तर्गत तानिएको छ ।
९ जना उपसचिवको सरुवा हुँदा केही साना जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू पनि फेरिएका छन्। कुलेश्वर अर्याललाई भोजपुर, नवरराज बराललाई जाजरकोट, महेश कुमार गुरुङलाई खोटाङ, बन्दना केसीलाई सल्यान र गणेश गैरेलाई म्याग्दीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
त्यस्तै, अमर बहादुर वलीलाई बाँकेको सहायक प्रमुख जिल्ला अधिकारी र बेदराज फुयाँललाई डडेल्धुराको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।















